ज्येष्ठ नागरिकसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया
हेटौंडा-ज्येष्ठ नागरिकसम्बन्धी सरोकारवालाबीच मंगलबार हेटौंडामा अन्तरक्रिया भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा वक्ताहरुले ज्येष्ठनागरिकको अनुभवलाई समाज र देशको विकासमा प्रयोग गर्नुपर्ने बताएका थिए । ज्येष्ठ नागरिक सम्बन्धी नीति निर्माणमा ज्येष्ठ नागरिकलाई सहभागी नगराएकोमा उनीहरुले असन्तुष्टि जनाएका थिए । सरकारले ज्येष्ठ नागरिकको हकहितको नियम, कानुन बनाए पनि कार्यान्वयनपक्ष भने कमजोर रहेको उनीहरुको भनाई छ । ज्येष्ठनागरिक इतिहास भएकोले सम्मान गर्नुपर्ने सरोकारवालाको धारणा छ ।
कार्यक्रममा बुढ्यौली साहित्य समाज मकवानपुरका सचिव सुवास खनालले ज्येष्ठनागरिकको नीति, नियम सम्बन्धी प्रस्तुतीकरण राखेका थिए । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम् समन्वय समितिका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्याललगायतको आतिथ्यता रहेको थियो । २०७८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको १० दशमलब २१ प्रतिशत ज्येष्ठनागरिक रहेका छन् । हेटौंडामा भने ज्येष्ठनागरिकको जनसंख्या कुल जनसंख्याको ७ प्रतिशत रहेको छ ।







