चौलागाईको ४ वर्षे कार्यकाल सकियो
हेटौंडा-प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको ४ वर्षे कार्यकाल सकिएको छ । २०७८ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारको पालामा परिषद्को उपाध्यक्षमा नियुक्त भएका चौलागाईको कार्यकाल जेठ ३१ गते सकिएको हो ।मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चौलागाईले आफ्नो कार्यकालमा भएगरेका कामको विषयमा जानकारी गराएका छन् । परिषद्ले युवा पुस्तालाई प्रदेश सरकार र सरोकारवालासँग जोड्न सफल भएको उनले दाबी गरे । आफ्नो कार्यकालमा ३ पटकसम्म युवा सम्मेलन गर्न सफल भएको निवर्तमान उपाध्यक्ष चौलागाईले बताए ।
आगामी आर्थिक वर्षको बजेटमा प्रदेश युवा परिषद्लाई खेलकुद विकास परिषद्मा गाभ्ने निर्णय सच्याउन समेत उनले आग्रह गरेका छन् । प्रदेश युवा परिषद्लाई अझ सशक्त बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता विपरित खेलकुद परिषद्मा गाभ्ने निर्णय कानूनीरुपमा पनि जटिल भएको उनको भनाइ थियो ।सीमित युवाको सहभागिता रहने खेलकुद र आम युवाको सक्षमता, क्षमता विकास र रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्ने युवा परिषद्बीच सरकारले बजेट विनियोजनमा पनि विभेद र असन्तुलित व्यवहार गर्दै आएको चौलागाईले बताएका छन् ।
प्रदेश युवा परिषद्मा रहेर ४ वर्षे कार्यकाल पूरा गर्दै गर्दा १० हजार भन्दा बढी युवालाई रोजगारमूलक तालिम प्रदान गरिएको, सयौं युवा स्वरोजगार भएको उनले उल्लेख गरे । एकपटक भर्चुअल र ३ पटक भौतिक उपस्थितिमै प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनको आयोजना गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ थियो । सरकार परिवर्तनको बेला एकपटक प्रदेश सरकारसँग केही असमझदारी भएपनि अदालतले पुनस्र्थापित गरेसँगै आफूलाई काम गर्न कुनै समस्या नभएको चौलागाईले स्पष्ट पारे । चौलागाईंले २०७३ मा जिल्ला युवा समिति मकवानपुरको अध्यक्षको रुपमा एक कार्यकाल सम्हालिसकेका छन् ।







