श्रीमती भेट्न पुगेका युवकको लडेर मृत्यु
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवकको लडेर मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घरभएका करिब ३० वर्षीय अमित मोक्तान २ असार सोमबार राति मृत फेला परेका हुन् । उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति लज भएको घरको छतबाट खसेको प्रहरीले बताएको छ ।
मृतक मोक्तान उनलाई भेट्न होटल पुगेको प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । होटलको तेस्रो तलास्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो । उनलाई मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृतघोषणा गरेको डीएसपी अर्यालले बताए । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन् । मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।







