उद्यमीलाई बीउपुँजी स्वरुप ३ लाख सहयोग
हेटौंडा- उद्योग संघ मकवानपुरले ३ उद्यमीलाई बीउपुँजीस्वरुप ३ लाख सहयोगगरेको छ । उद्योग संघ मकवानपुरद्वारा सञ्चालित बिजनेश इन्क्युवेसन सेन्टर कार्यक्रमअन्तर्गत स्टार्टअप तथा नवप्रवर्तन उद्यमीद्वारा प्रस्तुत गरिएको बिजनेश आईडिया तथा उत्पादन प्रर्दशनीमा प्रथम, द्वितीय र तृतीय भएका उद्यमीलाई बीउपुँजी प्रदान गरिएको हो । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङको प्रमुख आतिथ्यता एवम् संघका वरिष्ठउपाध्यक्ष श्रीहरि मास्केको अध्यक्षतामा भएको कार्यक्रममा बीउपुँजी वितरण गरिएको हो ।
प्रथम हुन सफल हेटौंडा–५ का उद्यमी आस्तिक दाहाललाई १ लाख २० हजार, द्वितीय हुन सफल हेटौंडा–९ की अभिज्ञ सुवेदीलाई १ लाख ५ हजार र तृतीय हुन सफल सुस्मा बर्तौला, शीतल काफ्ले र श्रृष्टि लामा भोम्जनको समूहलाई ७५ हजार बीउपुँजीस्वरुप प्रदान गरिएको हो । ९ जना उद्यमीले आफ्नो बिजनेश आइडियाको साथै उत्पादनको प्रदर्शनी गरेका थिए ।
हेटौंडा उपमहानगर आर्थिक विकास महाशाखाप्रमुख जगन्नाथ सापकोटा संयोजक रहेको मूल्याङ्कन समितिमा बोष्टन कलेज भरतपुरका प्रबिना शाह, चितवन उद्योग संघका रमेशचन्द्र पुरी र नेपाल बैंक लिमिटेड हेटौंडा औद्योगिक क्षेत्रका पुरुषोत्तम तिमल्सिना रहेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, बागमती उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, हेटौंडा औद्योगिक क्षेत्रका व्यवस्थापक संगीता कुँवर, नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्री चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।







