मनहरी पूर्णखोप सुनिश्चित पालिका घोषणा
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका ‘पूर्णखोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ ।पूर्णखोप कार्यक्रम मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको हो ।समन्वय समितिका प्रमुख घलानले मनहरीलाई पूर्णखोप सुनिश्चित पालिका भएको घोषणा गरेका हुन् । घलानले घोषणा कार्यान्वयनलाई निरन्तरता दिन अनुरोध गरे ।
उनले पालिका अध्यक्ष कालाखेतीलाई मनहरी पूर्णखोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गरेका थिए । पालिकाले वडा खोप समन्वय समितिलाई र यस अभियानमा खटिने स्वास्थ्यकर्मीलाई सम्मानपत्र प्रदान गरेको थियो । पालिकाभित्र रहेका २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै खोप प्राप्त गरेपछि मनहरीलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।
२३ महिनासम्मका ७६६ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेको उनले जानकारी दिए । यसका लागि कर्मचारी खटाएर घरधुरी सर्वेक्षण गर्नुका साथै जिल्ला खोप समन्वय समितिले अनुगमन गरेको थियो । मनहरीका अध्यक्ष कालाखेतीले अहिले जन्मिएका र अब जन्मिने बालबालिकाले पूर्णखोप पाउने वातावरण बनाउन पालिका कर्मचारीलाई निर्देशन दिए । कतिपय घोषणाहरु केवल घोषणामै सीमित हुने गरेको भन्दै उनले कार्यान्वयनको पाटोमा विशेष ध्यान दिनुपर्ने औंल्याए ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, वडाअध्यक्षहरु, विद्यालय नर्सहरु, स्वास्थ्यकर्मीहरुको आतिथ्यता रहेको थियो ।







