पत्रकारितामा प्रविधिको प्रयोग बढाउनुपर्छः सभामुख पाठक

साझाकुरा
२०८२ असार ६, शुक्रबार ११:२१

हेटौंडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पत्रकारिता क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् । बागमती प्रदेशसभा सचिवालयद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पाठकले प्रविधिमा आएको तीव्र परिवर्तनले पत्रकारिताक्षेत्रमा चुनौती थपिएको बताएका छन् । प्रविधिसँग सहकार्य गर्दै सञ्चारक्षेत्र अघि बढ्न आवश्यक रहेको उनले जोड दिए । सभामुख पाठकले सामाजिक सञ्जालले पत्रकारितालाई चुनौती थपेको उल्लेख गर्दै प्रविधिको तीव्र विकासको प्रत्यक्ष असर पत्रकारितामा परेको बताए । नयाँ प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नरहेको उनको धारणा थियो ।

जिम्मेवार पत्रकारिता कायम राख्न चुनौती भइरहेको वर्तमान परिवेशमा कुन सही र कुन गलत भनेर छुट्याउनसमेत गाह्रो हुने अवस्था आएको उनले बताए । त्यसैगरी उपसभामुख अप्सरा चापागाईंले सञ्चारकर्मीले तथ्यपरक भएर लेख्नुपर्ने बताइन् ।प्रदेश सरकारका गतिविधि अगाडि बढाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै उपसभामुख चापागाईंले नेपालको संविधान निर्माण गर्न, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि समेत पत्रकारले उल्लेखनीय भूमिका खेलेको स्मरण गरिन् । प्रदेशसभार प्रदेश सरकारले गर्ने कार्यको मूल्यांकन, टिप्पणी गर्ने, रखवारी गर्ने र प्रचारप्रसार गर्ने जिम्मेवारी पत्रकारको भएको उनको भनाइथियो ।

इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा दुई दिनसम्म सञ्चालन भएको अन्तरक्रिया कार्यक्रमको पहिलो दिन ‘नेपाली पत्रकारिताको अभ्यास र चुनौती’ विषयमा वरिष्ठ पत्रकार युवराज घिमिरेले ऐतिहासिक सन्दर्भ, राजनीतिक उतारचढाव र वर्तमान यथार्थबीच सञ्चार माध्यमको भूमिकाबारे जानकारी गराएका थिए भने दोश्रो दिन बिहीबार पत्रकार दुर्गा खनालले ‘राजनीति र संसदीय पत्रकारिता’ विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा प्रदेशसभा सचिव रामकुमार पौडेल, प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगरलगायत मकवानपुरमा रहेर संसदीय पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*