मनहरी गाउँपालिकाले बनकरियालाई निर्माण गरेको होमस्टे जीर्ण
हेटौंडा- लोपोन्मुख वनकरिया समुदायको आर्थिक उत्थान गर्ने उद्देश्यले मनहरी गाउँपालिकामा निर्माण गरिएको होमस्टे जीर्ण बनेको छ ।मनहरी गाउँपालिका–४, मुसेधापस्थित वनकरिया बस्तीमा ८ लाखको लगानीमा निर्माण गरिएको होमस्टे तयार नहुँदै जीर्ण बनेको हो । तर, वनकरिया समुदायले भने पर्यटक नआएका कारण प्रयोगविहीन अवस्थामा पुगेको जनाएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बसेको घरलाई स्तरवृद्धि गरी होमस्टे बनाइएको थियो । तर, लामो समयदेखि प्रयोग नहुँदा बाँसले बारेको होमस्टेको संरचना कमजोर भएको छ ।
अहिले दिउँसो बस्ती घुम्न आउने पाहुनालाई खाना खुवाउने व्यवस्था भएपनि रात्रिबास बस्नसक्ने अवस्था नरहेको फूलमाया वनकरियाले बताइन् । वनकरिया बस्तीलाई पर्यटनमार्फत् चिनाउने उद्देश्यले होमस्टे निर्माण गरिएको थियो । आधुनिक शौचालय सहितको दुईकोठे होमस्टे बनाइएको थियो । वनकरिया बस्तीकी अगुवा सन्तोषी वनकरियाले पर्यटक नआएकै कारण होमस्टे चल्न नसकेको बताइन् । ‘पर्यटक नआएपछि पैसा भएन, मर्मत गर्न पनि सकिएन,’ उनले भनिन् ।
दुईदशक अघिसम्म नेपाली नागरिकता नभएकै कारण समाजमा एकलकाट्टे जस्तो बन्नु परेको वनकरिया समुदायले दुईवर्ष अघिमात्र साबुन उद्योग दर्ता गरेका छन् । १० लाख रुपैयाँ चालुपूँजीराखेर घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा उनीहरुले वनकरिया, चेपाङ महिला साबुन उद्योग दर्ता गरेका हुन् । वनकरियाले दर्ता गरेको साबुन उद्योगबाटपरीक्षणका रुपमा साबुन उत्पादन गरी बिक्री पनि सुरु भएको छ ।
गाउँघरमा पाइने तितेपाती, नीमपत्ता, एलोभेरा (घ्यूकुमारी) को साबुन उत्पादनगरी प्रतिगोटा २५÷५०÷ ७५÷ रुपैयाँमा बिक्री गर्न थालेका छन् । अहिलेसम्म एकलाख रुपैयाँ भन्दा बढीको साबुन बिक्री गरेको सन्तोषीले जानकारी दिएकी छन् । कच्चापदार्थ विदेशबाट आयात गर्नु पर्दैन, यहीँ हाम्रो गाउँघरमै रहेको जडीबुडीजन्य वनश्पतिको झोललाई सोपकेस मिसाएर साबुन उत्पादन गरिरहेको जमुने वनकरियाले बताए ।
उनीहरुले आफ्नो बस्ती वरपर नीम, तितेपाती रोप्न सुरु गरेका छन् । आफैंले रोपेको तितेपातीबाट साबुन बनाउन थालेपछि सजिलो हुने उनीहरुको धारणा छ । खेरगइरहेको जडीबुटीबाट वनकरिया महिलाले अर्गानिक साबुन उद्योग खोलेका हुन् । स्थानीयस्तरमा नै पाइने घ्युकुमारी, नीम र तीतेपातीको प्रयोग गरेर नुहाउने, मुखधुने साबुन बनाएका हुन् । दुई दशकअघि जंलबाट एकीकृत बस्तीमा सरेका वनकरियाले उद्योग नै दर्ता गरेर काम सुरुगरेका छन् । वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको सन्तोषीले बताइन् । २५ जना वनकरिया तथा चेपाङ महिला मिलेर साबुन उद्योगको थालनी गरिएको हो ।







