फरेष्ट्री गेट अगाडिबाट खैरोहेरोइनसहित दुईजना पक्राउ
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४, फरेष्ट्री गेट अगाडिबाट अबैध खैरोहेरोइनसहित मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका ४२ वर्षीय अनुपकुमार रुम्बा र ३३ वर्षीय मणि लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता श्यामु आर्याले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बुधबार साँझ ६ बजेको समयमा शंकास्पदरुपमा बसेका दुईजनालाई जाँच गर्दा उनीहरुको साथबाट ७७० मिलिग्राम खैरोहेरोइन बरामद भएको थियो । सामान्य जाँचका क्रममा प्लास्टिकमा प्याक गरिएको लागूऔषध फेला परेपछि दुवैजनालाई नियन्त्रणमा लिइएको प्रवक्ता अर्यालले बताए । उनीहरुमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।







