दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

प्रकाशित समाचार हटाउने आदेश खारेज
साझाकुरा
२०८२ असार ६, शुक्रबार ११:२९

हेटौंडा- उच्चअदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकको मुद्दाको किनारा नलागेसम्म पक्राउ नगर्न आदेश दिएको छ । पत्रकार पाठकले आफू विरुद्ध पक्राउपुर्जी जारी भएको भन्दै उच्चअदालतमा दायर गरेको रिटमा विहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नेदखिदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू नगराउनू भनी असार ३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

सँगै आदेशको जानकारी विपक्षीलाई दिन भनिएको छ । साथै पत्रकार तथा सञ्चारमाध्यममाथीको कारबाही किनारा लगाउने निकाय प्रेस काउन्सिल रहेको अदालतले स्मरण गराएको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ मा भएको व्यवस्था तथा ऐन अनुसार लागू भएको पत्रकार आचारसंहिता, ०७३ को व्यवस्था अनुसार सञ्चारमाध्ययम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले काउन्सिलमा उजुरी दिनसक्ने व्यवस्था भई त्यस्तो उजुरीमाथि छानबीन र कारबाही हुनसक्ने अवस्था रहेको आदेशमा भनिएको छ ।

यसैगरी जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी गरेको समाचार हटाउने आदेश पनि स्वतः खारेज भएको छ । न्यायाधीश शर्माले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको वारेमा प्रकाशित समाचार हटाउन आदेश दिएका थिए । आदेश जारी भएपछि बिजमाण्डु र नेपालखबर अनलाइनले सुनुवाइका क्रममा त्यसको प्रतिवाद गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*