आक्रमणमा संलग्नलाई तत्काल पक्राउ नगरे आन्दोलनमा उत्रने चेतावनी
हेटौंडा- नेपाली कांग्रेस हेटौंडा उपमहानगर कमिटीले हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ नगरे आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।शुक्रबार प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठसहित प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखसमक्ष नगरसभापति उत्सव इटेनीले हेटौंडा दिनप्रतिदिन असुरक्षित हुँदै गइरहेको र प्रहरी प्रशासनले पूर्णरुपमा असफल हुने बाटोतर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
प्रहरी प्रशासनबाट ५० मिटरको दुरीमा रहेको वडा कार्यालयमा जनप्रतिनिधिमाथि नै आक्रमण हुनुले प्रशासनमाथि नै शंका उब्जाएको सभापति इटेनीले बताए । उनले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा नल्याएको खण्डमा आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने बताए । सभापति इटेनीले हेटौंडा सिमेन्ट उद्योगको कवाडी चोरी भएको विषयमा प्रहरी र प्रशासनले केही गर्न नसकेको उल्लेख गरेका छन् । जनप्रतिनिधिको गुनासो समेत प्रशासन कार्यालयबाट सम्बोधन नहुँदा जिल्लाबासीले कसरी सुरक्षित महसुस गर्न सक्छन् ? भन्दै उनले प्रजिअ श्रेष्ठलाई प्रश्न गरे ।
सभापति इटेनीले प्रशासनको अनुरोध अनुसार केहीदिनभित्र पर्खने र त्यसपछि पनि वडाअध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गर्ने पक्राउ नगरेको खण्डमा आफूहरु प्रशासनविरुद्ध आन्दोलन गर्ने बताएका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले घटनाको सुुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए । सिसिटिभी फुटेजमा देखिएका व्यक्तिको पहिचान हुन नसक्दा समस्या भएको उनको भनाई छ ।
प्रजिअ श्रेष्ठले प्रशासनको काममा शंका नगर्न आग्रह गरिन् । समाजको शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आपूmहरु प्रतिबद्ध रहेको उनले दाबी गरिन् । केही दिन अघि राप्तीरोडस्थित दास ईम्पोरियमका संचालकमाथि भएको आक्रमण, नगरप्रवक्ता तथा हेटौंडा–१ का अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणले हेटौंडा असुरक्षित बन्दै गएको बताइएको छ ।







