गृह मन्त्रालयको सर्कलुर भन्दै पत्रकारलाई भिडियो खिच्न रोक

साझाकुरा
२०८२ असार ७, शनिबार ०८:१९

हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार पत्रकारहरुलाई भिडियो खिच्न रोक लगाइएको छ । जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेधगरिएको हो । प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको कार्यकक्षमा जनप्रतिनिधि माथिको आक्रमण सम्बन्धी छलफल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ज्ञापनपत्र र कांग्रेस मकवानपुरको ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम थियो ।

तर, कार्यक्रममा समाचार संकलनका लागि पुगेका नेपाल टेलिभिजनका भावना रिजाल, रातोपाटी डटकमका गणेश दुलाल लगायतलाई सुरक्षा गार्डमार्फत् कार्यकक्ष प्रवेशमा नै रोक लगाइएको हो । कार्यकक्षभित्र प्रवेश पाएका टिम टेलिभिजनका संवाददाता मनिल महतो लगायतका केही पत्रकारले दृश्य खिच्न खोज्दा प्रजिअ श्रेष्ठले गृह मन्त्रालयको सर्कुलर भन्दै नखिच्न भनिन् । यसबारे केहीबेर भनाभनसमेत भएको थियो ।

पत्रकारले सहजरुपमा समाचार संकलन र दृश्य कैदगर्ने अधिकार माग गरेपनि श्रेष्ठले मौन बस्दै कार्यक्रम अगाडि बढाएको अवस्था थियो । अन्ततः पत्रकारको क्यामेरा र मोवाइल बन्द गराएपछि मात्र कार्यक्रम संचालन गरिएको थियो । घटनाप्रति पत्रकार महासंघ मकवानपुर, प्रेस युनियन, प्रेस सेन्टर मकवानपुरले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*