हेटौंडामा स्टार्टअप नवप्रवर्तन उद्यमशीलता सम्मेलन सुरु

साझाकुरा
२०८२ असार ७, शनिबार ०८:२६

हेटौंडा- हेटौंडामा स्टार्टअप तथा नवप्रवर्तन उद्यमशीलता सम्मेलन सुरु भएको छ । उद्योग संघ मकवानपुरको आयोजना एवम् प्रदेश सरकारको उद्योग, वाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालयसँगको सहकार्यमा २ दिने सम्मेलन सुरु भएको हो । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषालको प्रमुखआतिथ्यमा सम्मेलनको उद्घाटन गरिएको हो ।

उद्घाटनमा सचिव भुषालले नवप्रवर्तन र उद्यमशीलतामा निजीक्षेत्रले नै अगुवाई गर्ने र राज्यले त्यसका लागि वातावरण बनाउने बताएका छन् । उनले नवप्रवर्तन र उद्यमशीलतामा प्रदेश सरकारले निजीक्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उद्योग र उद्यमीको सम्भावना पहिचान हुन नसक्दा कुल बजेटको १ प्रतिशत पनि उद्योगक्षेत्रमा बजेट विनियोजन हुन नसकेको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सिकाईलाई सीपसँग जोड्नुपर्ने बताइन् । जाँगरिला मानसिकता बोकेर उद्यमशीलतालाई प्रवद्र्धन गर्नु आजको आवश्यकता भएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नवप्रवर्तनको माध्यमबाट समाजलाई समुन्नतको दिशामा अगाडि बढाउनुपर्ने बताइन् ।
रोजगारीको अवसर सिर्जना गरेर समाजमा ब्याप्त बेरोजगारीकोसमस्या हल गर्न सकिने उनले उल्लेख गरिन् ।

शुक्रबार र शनिबार दुईदिन सञ्चालन हुने सम्मेलनमा दीगो उद्यमशीलताको विषयमा प्रमुखवक्ताको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विजुकुमार थपलिया रहेका थिए । पहिलो दिन प्रमुखवक्ताको प्रस्तुतीसँगै नेपालमा दीगो उद्यमशीलताको विषयमा समूह छलफल, बजारीकरणको विषयमा कार्यशाला, उद्यमशीलतामा कृत्रिम वौद्धिकता (एआई) को प्रयोगका विषयमा प्रस्तुती भएको थियो ।

दोस्रो दिन शनिबार ‘उद्यमशीलतामा महिला सहभागिता ः चुनौती र अवसर’ विषयक समूह छलफल, बजेटमा नवप्रवर्तन र उद्यमशीलताको विषयमा छलफल हुनेछ भने नेपालको उद्यमशीलता चक्रमा प्रारम्भिक लगानीकर्ताको भूमिका विषयमा छलफल हुनेछ । सम्मेलनमा मकवानपुरसहित चितवन, सिन्धुली, धादिङ, नुवाकोट, दोलखा जिल्लाबाट उद्योग तथा वाणिज्य संघका पदाधिकारी, उद्यमी, स्टार्टअप योजनामा सहभागी नवउद्यमी, विद्यार्थीको सहभागिता रहेको छ ।

उद्योग संघ मकवानपुरका वरिष्ठउपाध्यक्ष श्रीहरि मास्केको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, पूर्वअध्यक्ष नवराज अर्याल, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*