अपाङ्गता भएका ३३ परिवारलाई व्यवसाय प्रवद्र्धनमा सहयोग
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपाङ्गता भएका ३३ जनाको परिवारलाई कृषि व्यवसाय प्रवद्र्धनका लागि सहयोग गरेको छ ।अपाङ्गता भएकाको क्षेत्रमा काम गरिरहेको अपा· सरोकार केन्द्रसँगको समन्वयमा उपमहानगरक्षेत्रमा रहेका परिवारलाई बाख्रा, बंगुर र मौरीको घार सहयोग गरेको हो । कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत उपमहानगरप्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई मौरीको घार र २ परिवारलाई बंगुर वितरण गरिएको सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले जानकारी दिए ।
व्यवसाय प्रवद्र्धन कार्यक्रममा नगरप्रमुख लामाले बीऊपुँजीको रुपमा उपमहानगरले सहयोग गरेको बताइन् । बीऊलाई मास्ने नभई बिस्तार गर्दै लैजानेतर्फ लाग्न जरुरी रहेको उनको सुझाव थियो । शारीरिकरुपमा अशक्त भएपनि घरमै रहेर दिगो आयआर्जनको पाटोमा जुटेकोमा खुशी व्यक्त गर्दै उपमहानगर सधैं सहयोगीको भूमिकामा रहने बताइन् ।उनीहरुले ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा मौरीको घार र ४ वटा गोठ निर्माणका लागि अनुदान पाएका छन् । कृषि व्यवसायको सुधार गर्दै दिगो आर्यआर्जनमा जोडिन मद्दत गर्ने उद्देश्यअनुसार उपमहानगरले ५० प्रतिशत लागत व्यहोरेको छ ।







