बागमतीको बजेटमा मुख्यमन्त्री आफैं असन्तुष्ट

साझाकुरा
२०८२ असार ८, आईतवार १३:१८

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नै नेतृत्वमा आएको बजेटमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।आगामी आर्थिक वर्ष ०८२÷८३ को बजेटमाथि असन्तुष्टि जनाउँदै उनले धेरैतिर छरिएको टिप्पणी गरे । शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले बजेट छरिँदा कतैपनि प्रभावकारी काम हुन नसकेको स्वीकार गरे । मुख्यमन्त्री लामाले १९ हजार योजना भएको र त्यो धेरैतिर छरिँदा कार्यान्वयनमा समस्या हुने बताए ।

‘यस्तो बजेट प¥यो की यस्तो बजेटमा विकास हुन सक्दैन भनेर भनेको थिएँ, हामीसँग १९ हजार योजना भएपछि यसलाई कसरी कार्यान्वयन गर्ने चिन्ता भयो,’ मुखयमन्त्री लामाले भने, ‘यति धेरै योजना भयो की, ती योजना कहाँ पुगेर टुंगिन्छ, योजना पनि कता हो कता भयो ।’ आफू अर्थमन्त्री हुँदा धेरै योजना नपु¥याउँ भनेर १३ हजारमा झारेको उनले स्मरणगरे । योपटक १२ हजार योजनामा सीमित गरौं भनेको १९ हजार योजना पुगेको उनको भनाइ थियो । ‘पहिले नै फोहोर भइसकेका कारण सफा गर्न गह्रो भएको थियो।

अहिले जसरी सफा गर्नुपथ्र्यो त्यो सकिएन,’ उनले भने । योजनाको प्राथमिकीकरण गर्न नसकेको उनको गुनासो छ । योजनालाई प्राथमिकीकरण गर्न नसकेको, अध्ययन गरेर कहाँ कसरी र कति बजेट राख्ने ? भन्ने हुन नसकेको उनको भनाइ थियो । ‘एउटा व्यक्तिले मेरो र म जाने ठाउँमा मात्र बजेट हाल्न केन्द्रित भए वासस्तविक ठाउँमा बजेट परेन,’ उनले भने, ‘अब जहाँ सडकमा बजेट परेन, ओहोरदोहोर गर्ने पुलमा बजेट परेन त्यस्ता छुटेका ठाउँमा विपद् व्यवस्थापनमार्फत् बजेट राख्नेछौं ।’

छुटेका योजना सबै मिलेर आगामी दिनमा कार्यान्वयन गर्ने उनले बताए । विपद्बाट प्रभावित काभ्रे जिल्लाको निरीक्षणमा आउँदा बजेटबाट धेरै सम्बोधन गर्ने बताएका मुख्यमन्त्रीले नीति तथा कार्यक्रममा विपद् क्षेत्रलाई प्राथमिकता नदिएपछि काभ्रेमा आलोचना भइरहेको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*