जन्मदिनमा बोलाएर कुटपिट गरी युवकको हत्या, ४ जना पक्राउ

साझाकुरा
२०८२ असार ९, सोमबार १२:३०

हेटौंडा- जन्मदिन मनाउन भन्दै बोलाएर कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुर घरभइ बुढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने विकास लामालो, बाराको निजगढ नगरपालिका–७ घरभएका २९ वर्षीय सुगन्ध लामा, निजगढ नगरपालिका–५ घरभएका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ घरभएका २३ वर्षीय निसान जिम्मा छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार विकास लामालोका बहिनीको जन्मदिन बनाउन भन्दै बाराको निजगढ नगरपालिका–८ घरभएका ३२ वर्षीय कृष्ण लामालाई बुढानीलकण्ठ टुसालमा बोलाइएको थियो ।असार ६ गतेको राति जन्मदिन मनाउन भन्दै बोलाएर कृष्णलाई उनीहरुले कुटपिट गरी हत्या गरेको पाइएको परिसरका प्रवक्ता बोहराले बताए । पक्राउ परेकाहरुविरुद्ध कर्तव्यज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

जन्मदिन मनाउने क्रममा सबै जनाले मादकपदार्थ सेवन गरेको र त्यसपछि उनीहरुबीच विवाद सुरु भएको देखिएको प्रहरीले बताएको छ । विवादले उग्ररुप लिएपछि कुटपिट गर्दा कृष्णको ज्यान गएको प्रहरीको भनाइ छ । जसकारण मार्ने पूर्वयोजना भन्दा पनि एकछिनको विवादका कारण उनको ज्यान गएको देखिएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*