‘२५ मिटरको अन्यौलताको कारण ट्राफिक ब्यवस्थापन अव्यवस्थित भयो’
हेटौंडा-सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि ट्राफिक शिक्षक प्रशिक्षण प्रदान गरिएको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएको हो । प्रशिक्षणमा हेटौंडा उपमहानगरभित्रका संस्थागत र सामुदायिक गरी १ सय २० वटा विद्यालयका प्रतिनिधि शिक्षकको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले २५मिटर सडक विस्तारको अन्यौलताको कारण हेटौंडा बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइन् । उनका अनुसार हेटौंडामा २५ मिटर सडक विस्तार अब छिट्टै हुनेछ ।
२५ मिटर सडक विस्तारपछि ट्राफिक व्यवस्थापन चुस्तरुपमा हुने उनको भनाई छ । हेटौंडा नगरक्षेत्रको ४ किलोमिटरमा मुआब्जा विवाद रहेको बताउँदै अन्यायमा परेकालाई मुआब्जा दिएर भएपनि सडक विस्तार कार्य सुरु गरिने उनले बताइन् । नगरप्रमुख लामाले आगामी नीति कार्यक्रम तथा बजेटमा शिक्षाक्षेत्रलाई प्राथमिकतामा राखिने उल्लेख गरिन् । प्रदेश प्रहरीप्रमुख डिआईजी अरुण पौडेलले शिक्षक ट्राफिक कार्यक्रमलाई बागमती प्रदेशको नमूना कार्यक्रमका रुपमा हेरिएको बताएका छन् ।
देशभर नै सवारी दुर्घटनाको आँकडा हेर्दा भयावह बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । देशको बाटोघाटोको अवस्था, ट्राफिक नियमको पालना नगर्दा, लागूपद्धार्थ सेवन, तीव्ररुपमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए । आफूले सिकेका ज्ञान परिवार र समाजमा फैलाउने हुँदा विद्यार्थीलाई सवारी नियम, ट्राफिक सचेतना दिने उद्देश्यले शिक्षकलाई तालिम प्रदान गरिएको उनले उल्लेख गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले वर्तमान पैदलयात्री भोलिका सवारी चालक बन्ने भएकाले कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिका लक्षित कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताइन् ।
प्राकृतिक प्रकोप रोक्न नसकिए पनि सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उनकोधारणा थियो । कार्यक्रममा ट्राफिक विद्यालय समन्वयकर्ता कञ्चन शर्मालाई सम्मानपत्रद्वारा सम्मानगरिएको थियो । गत आर्थिक वर्षमा मकवानपुरमा ३ सय ७१ सवारी दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाएको मकवानपुरका ट्राफिक प्रहरीप्रमुख बच्चुराम फुयाँलले जानकारी दिए ।







