हेटौंडा उपमहानगर पूर्णखोप सुनिश्चित घोषणा हुँदै
हेटौंडा- हेटौंंडा उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी गरिएको छ । उपमहानगरलाई यही असार ११ गते पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने भएको हो ।यससँगै मकवानपुरलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी पूरा हुनेछ । यसअघि जिल्लाको ९ वटा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । भीमफेदी गाउँपालिका जेठ २६ गते, बकैया गाउँपालिका जेठ २८ गते, बागमती गाउँपालिका जेठ २९ गते, कैलाश गाउँपालिका जेठ ३० गते, थाहा नगरपालिका र गढी गाउँपालिका असार ३ गते, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिका असार ४ गते तथा मनहरी गाउँपालिका असार ५ गते पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरियो ।
मकवानपुरलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणाका लागि जिल्ला खोप समन्वय समितिबाट प्रदेशको खोप समन्वय समितिलाई प्रमाणीकरणका लागि सिफारिस गरेको जनस्वास्थ्य कार्यालय मकवानपुरका, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमालले जानकारी दिए । प्रमाणीकरण भएपश्चात् जिल्ला पूर्णखोप सुनिश्चित भई दिगोपना योजनाका लागि तयारी गरिने उनको भनाई छ । नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्णखोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार पनि वर्षेनि पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।
स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकारभित्र आधारभूत स्वास्थ्य सेवाअन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ । बालबालिकामा विभिन्न सरुवा रोगबिरुद्ध खोप लगाइदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखाला बिरुद्ध खोप उपलब्ध गराउदै आइएको हो । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँविकास समितिबाट पूर्णखोप घोषणागरी सुरु गरिएको थियो ।







