बालमैत्री वडा घोषणाका लागि थाहामा अभिमुखीकरण
हेटौंडा- थाहा नगरपालिकामा बालमैत्री वडा घोषणा अभियानलाई अगाडि बढाउन वडास्तरीय समिति तथा सरोकारवालाको अभिमुखीकरण सम्पन्न भएको छ । नगरको वडा न १ र ३ लाई बालमैत्री वडा घोषणा गर्ने अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । थाहा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख विष्णु बिष्ट, वडा न १ को अध्यक्ष हेरमान गोपाली, वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, सामाजिक विकास शाखाप्रमुख अनिल लामिछाने, स्वास्थ्य शाखाप्रमुख मेघराज बलामी, शिक्षा शाखाअधिकृत सूर्य लामा, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबू अर्याल लगायत वडा नं. १ र ३ का विभिन्न सरोकारवालाको उपस्थिति थियो ।
कार्यक्रममा वडास्तरीय बालक्लब, स्थानीय स्वास्थ्यसंस्थाका प्रमुख, महिला स्वास्थ्यस्वयंसेविका तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमका फोकल पर्सन तथा प्रशिक्षक कुमार नेगीले बालमैत्री स्थानीय शासनका सूचकहरु, तिनीहरुको कार्यान्वयन चरण, तथा बालमैत्री वडा घोषणाका प्रक्रिया विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा पूर्वतयारी, समुदायस्तरीय समिति गठन तथा सूचकको स्थानीयकरण गर्ने निर्णय गरिएको थियो ।
थाहा नगरप्रमुख बिष्टले बालमैत्री स्थानीय शासन घोषणा नगरपालिकाको प्राथमिक एजेन्डामध्ये एक भएको बताएका छन् । ‘बालबालिकाको अधिकार सुनिश्चित गर्नु हाम्रो दायित्व हो । त्यसैले थाहा नगरपालिकाले बालमैत्री स्थानीय शासनको मापदण्ड पुरा गर्नका लागि आवश्यक संरचना, नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको छ’ उनले बताए ।
नगरप्रमुख बिष्टका अनुसार पालिकाले वडा तहमा बालमैत्री समिति गठन, बाल क्लबको सक्रियता, स्वास्थ्य तथा शिक्षामा पहुँच विस्तार, बालश्रम न्यूनीकरण, बालहिंसाविरुद्ध जनचेतना कार्यक्रम र बालबालिकाका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माणमा विशेष ध्यान दिइरहेको छ ।







