बागमती प्रदेशसभा बैठक असार १६ गतेसम्मको लागि स्थगित

हेटौंडा-असार १२ गते बिहिबारको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।बैठक बिहिबार बिहान ११ बजे बस्ने तय भएको थियो तर, प्रदेशसभा सचिवालयले ‘विशेष कारण’ भन्दै असार १६ गते दिनको १ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गरायो । कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्यले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गरेका थिए । बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा पनि बजेट विनियोजन गरिएको भन्दै सांसदहरुले विरोध जनाएका थिए । बजेटको रातो किताबमा पूर्वी नवलपरासीको कावासोती नगरपालि–२ स्थित शिव मावि परिसर र आसपासका क्षेत्रमा पूर्वाधार निर्माण गर्ने उल्लेख छ ।
चालू आर्थिक वर्षमा पार्टीका दिवंगत नेताका नाममा बजेट विनियोजन गरेर पार्टी कार्यालय निर्माणमा खर्च गरेपछि विवादमा तानिएका आर्थिक मामिला मन्त्री काफ्ले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा झन् सुरुमै बिबादको घेरामा परेका छन् । उनले व्यक्तिका नाम र घरको ठेगाना तोकेर दर्जनौँ योजनामा बजेट विनियोजन मात्रैगरेका छैनन्, गण्डकी प्रदेशको सीमा भित्र पनि आयोजना तोकेर बजेट छुट्याएका छन् । यस्तो मनलाग्दीले बजेटको पारदर्शिता, प्राथमिकता र आवश्यकताको सिद्धान्तमाथि नै गम्भीर प्रश्न उठेको छ ।
कुनैपनि प्रदेश सरकारले आफ्नो प्रदेश सीमाभित्र पारदर्शी आयोजना तोकेर बजेट विनियोजन गर्ने हो । तर, मन्त्री काफ्लेले गण्डकीमा आयोजना तोकेर बजेट विनियोजन गरेका छन् । गण्डकीको नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित कावासोती नगरपालिका–२ मारहेको शिव मावि परिसर तथा आसपासको क्षेत्रमा एक करोडको पूर्वाधार निर्माण योजनामा बागमतीको बजेट परेको हो । त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा २० र २२ लाई जोड्न कर्रा खोलामाथि पुल निर्माणका लागि बजेट विनियोजन भएको छ ।
जबकि हेटौंडा उपमहानगरमा १९ वटा मात्रै वडा छन् । हुँदै नभएका २० र २२ वडा भनेर बजेट विनियोजनले हेटौंडावासी चकित परेका छन् ।‘फलानोको घरदेखि ढिस्कानोको गोठसम्म’ भन्नै शैलीमा व्यक्तिमा नाम जोडिएका योजना बग्रेल्ती छन् । चितवनको भरतपुरदेखि माडी, कालिका, खैरहनी, रत्ननगरसम्मका दर्जनौं योजनामा व्यक्तिको नाम, घरको विवरण सहितका योजना समावेश गरिएको छ । चितवनमा ज्ञानहरि अर्यालको घरचोकदेखि बागेश्वर मन्दिरसम्म, धर्म परियारको घरदेखि लामा राइस मिलसम्म र हस्तबहादुर थापाको घर हुँदै सामुदायिक भवनसम्म तथा युवराज चौधरीको घरदेखि चन्द्रसिंह चौधरीको घरसम्मको सडक स्तरोन्नति गरिनेलगायतका योजना समावेश गरिएका छन् ।
त्यस्तै, एन्जल हार्डवेयरको भित्री बाटो ढलान (तारकेश्वर नगरपालिका–५, अर्यालटार, काठमाडौं), पार्बन राईको घरअगाडिको बाटो ढलान (गोदावरी नगरपालिका–२, किराँतबस्ती, ललितपुर), हरि लामाको घरछेउदेखि भक्तबहादुर मल्लको घरसम्म ८० मिटर सेयर वाल निर्माण (बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौं), यज्ञमति स्कुलमुनि करुण राईको घरतर्फ जाने सडक स्तरोन्नति (बुढानीलकण्ठ नगरपालिका–११, काठमाडौं) लगायत योजना समावेश छन् । यीमध्ये धेरैजसो योजना १० लाखदेखि ६० लाखका मात्रै छन् ।
बजेट ल्याउने दिन पनि बजेटको आकारलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभेद थियो । कांग्रेस र एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सरकारमा मतभेत सृजना भएको थियो । अन्ततः बजेटको आकार ६८ अर्बमै यथावत राखिएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो । दिउँसो ३ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक बेलुका ८ः३० बजेपछि बस्यो र आर्थिक मामिला मन्त्री काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत गरेका थिए ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोततर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ अनुमान गरिएको छ ।