३ सय १७ किलो चरेससहित एकजना पक्राउ
हेटौंडा-पर्सा प्रहरीले परवानीपुरबाट करिब ३१७ किलो चरेससहित मकवानपुरको थाहा नगरका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार साँझ ७ बजेको समयमा वीरगञ्ज–२१, परवानीपुरचोकमा रोकी राखेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट प्रहरीले ३१९ किलो चरेस बरामद गरेको हो ।
मालवाहक ट्रकमा लागूऔषध चरेस लोड गरी ल्याएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक कारवाही गरेको जनाएको छ । ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध चरेस १३ पोका बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चालक बुद्धिबहादुरको साथबाट १ लाख ९२ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।







