पत्रकार आचारसंहिताका विषयमा मकवानपुरका सञ्चारकर्मीसँग छलफल
हेटौंडा-प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताका विषयमा मकवानपुरका सञ्चारकर्मीसँग छलफल गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा बिहीबार प्रेस काउन्सिलका सदस्य नकुल अर्यालले प्रेस स्वतन्त्रता, आचारसंहिता र काउन्सिलको भूमिका लगायत विषयमा केन्द्रित रहेर सञ्चारकर्मीसँग छलफल गरेकाहुन् । छलफलमा सहभागी सञ्चारकर्मीले प्रेस काउन्सिलको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । काउन्सिलमा सुधारको आवश्यकता औंल्याउँदै यसलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए । छलफलमा सदस्य अर्यालले प्रेस काउन्सिलको भूमिकालाई सशक्त बनाउँदै लैजानका लागि जिल्ला–जिल्लामा छलफल तथा सुझाव संकलन गरिएको बताए ।
उनले प्रेस काउन्सिल पत्रकारिता क्षेत्रलाई नियमन गर्ने निकाय भएको उल्लेख गर्दै सञ्चारकर्मीबाट आएका सुझाव अनुसार कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । प्रेस काउन्सिलले ठाडो उजुरीका आधारमा नभई तथ्य हेरेर मात्रै पत्र काट्नुपर्ने उनले बताएका छन् । काउन्सिलमा आएका उजुरीका सम्बन्धमा समाचारमा चित्त नबुझेका विषयमा मात्रै खण्डन हुनुपर्ने धारणा राखे । संसदमा विचाराधीन मिडिया विधेयक पारित भए काउन्सिल स्वतः खारेज हुने सदस्य अर्यालले बताएका छन् । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल मिलेर बनाएको पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्नेमा सदस्य अर्यालको जोड थियो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीले पत्रपत्रिका वर्गीकरण, लोककल्याणकारी विज्ञापन, समाचार कपीको समस्या लगायतका विषय उठान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, सल्लाहकार अन्जली थापालगायत मकवानपुरका विभिन्न सञ्चारगृहका प्रकाशक, सम्पादक, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।







