नसर्ने रोगविरुद्ध हेटौंडामा सचेतनामूलक ¥याली

साझाकुरा
२०८२ असार १३, शुक्रबार ११:३२

हेटौंडा- हिँड्ने गरौँ साँझ र बिहान, नसर्ने रोग विरुद्ध हाम्रो अभियान भन्ने मूलनाराका साथ हेटौंडामा सचेतनामूलक ¥याली निकालिएको छ ।जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा सचेतनामूलक ¥याली निकालिएका हो । बिहीबार बिहान जनस्वास्थ्य कार्यालयबाट सुरु भएको ¥याली हेटौंडाको सानोपोखरा, मनकामनाचोक, उद्योग वाणिज्य संघ, सीमाचोक हुँदै पुनः जनस्वास्थ्य कार्यालयमा आएर समापन भएको थियो । विश्व स्वास्थ्य संगठनका नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका डा.अनुपविक्रम बिसीले नसर्ने रोगको बारेमा सहजीकरण गरेका थिए । नसर्ने रोगबाट बच्ने उपायअन्तर्गत मेरो ९ प्रतिबद्धता, स्वस्थ्यजीवनको आवश्यकता भन्ने प्रतिविद्धतामा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले हस्ताक्षर गरेका छन् ।

¥यालीमा स्वास्थ्य मन्त्रालय, निर्देशनालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय तहका स्वास्थ्य प्रतिनिधि र नागरिक समाजको उपस्थिति थियो । जनस्वास्थ्य कार्यालयले नसर्ने रोगबारे सचेतना फैलाउनका लागि हिमालयन राइडर्स सोसाइटी मकवानपुरको सहकार्यमा साइकल ¥याली र निःशुल्क स्वास्थ्यपरीक्षणको गरेको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुरको पाँच आर्थिक वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ६ सय ५४ मधुमेहका बिरामी रहेकोमा २०८०÷८१ मा बढेर ९ हजार २ सय ६ पुगेको छ ।

जिल्लामा उच्चरक्तचापको बिरामी आर्थिक वर्ष २०७६÷७७ मा पाँच हजार ३५९ रहेकोमा २०८०÷८१ मा बढेर १६ हजार २७ पुगेको छ । त्यस्तै दमखोकीका बिरामी आव २०७६÷७७ मा दुई हजार १५३ रहेकोमा आव २०८०÷८१ मा तीन हजार ४८१ पुगेको हो । पछिल्लो समय मुटुरोग र मिगौलासम्बन्धी रोगका बिरामी बढ्दै गएपनि हेटौंडा अस्पतालले सबै बिरामीको विवरण उपलब्ध नगराउँदा यकिन तथ्यांक आउन नसकेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताएका छन् ।

उनले नियमित व्यायाम, शारीरिक सक्रियता, स्वस्थ आहारव्यवहार, धूमपान तथा सुर्तीजन्यपदार्थ र मदिराको लतबाट टाढा रहने, नुनको सेवन कम गर्ने, चिल्लो कम मात्रामा खाने, फलफूल तथा सागसब्जीको सेवन बढाउन सुझाव दिएका छन् ।नेपालमा सन् २०१० को तथ्यांकअनुसार ५१ प्रतिशत, सन् २०१४ मा ६० प्रतिशत, सन् २०१६ मा ६६ प्रतिशत र सन् २०१९ मा ७१ प्रतिशतमा नसर्ने रोग देखापरेको छ । जसमध्य ३० प्रतिशतमा मुटुरोग रहेको छ भने जम्मा जनसंख्याको ८ प्रतिशत सवारी दुर्घटनामा परेर मर्ने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको सन् २०१८ को आँकडाअनुसार नेपालको कुल मृत्युमध्ये करिब ६६ प्रतिशत मृत्युका कारण नसर्ने रोग भएको पाइएको छ । यसैगरी ३०–७० वर्ष उमेर समूहमा अल्पायुमा नै मृत्युको प्रमुख कारणका रुपमा देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*