कृषिक्षेत्रको प्रवद्र्धन गर्दै मउवासंघ

साझाकुरा
२०८२ असार १३, शुक्रबार ११:३५

हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा कृषि तथा पशुपन्छी विकाससम्बन्धी एक दिवसीय अभिमुखीकरण बिहीबार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको अध्यक्षता तथा बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषिप्रसार अधिकृत झरना पन्थी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाई, कृषि प्रवद्र्धन समितिका संयोजक निलमकुमारी पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष रानाभाटले कृषकलाई आफ्नो कार्यक्षेत्रमा दक्ष भएर काम गर्न सघाउने हिसावले कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रमका प्रशिक्षकबाट प्रदान हुने जानकारी कृषकको लागि महत्वपूर्ण हुने बताए । कृषि विकास निर्देशक श्रेष्ठले मकवानपुर जिल्ला कृषिको लागि सम्भावनायुक्त रहेको बताए । किवी, च्याउ जस्ता कृषिउपज आयबृद्धिको लागि सम्भावनायुक्तरहेको, कृषि पर्यटनको सम्भावनारहेको, कृषकले उत्पादन गर्न जानेका हुन्छन् र त्यसको बजार व्यवस्थापनको लागि संघसँग सहकार्य अत्यावश्यक रहेको बताए ।

एक गाउँ एक उत्पादनको अवधारणामा संघसँग मिलेर काम गर्न सकिने उनको धारणा थियो । प्रदेश सरकारले साना सिंचाइ कार्यक्रम महत्वका साथ गरिरहेको, प्रदेश सरकारले स्वदेशी कच्चापदार्थमा आधारित कृषिऔजार कारखानालाई मद्दत गरिरहेको, ३८ करोड लागतमा प्रादेशिक कृषि थोकबजार हेटौंडामा निर्माण भइरहेको, संविधानले स्थानीय तहलाई कृषिको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताए ।

सहभागी कृषकले न्यूनतम र अधिकतम कति कर्जा पाइने जानकारी नभएकाले कार्यक्रममा त्यो विषय जोडिने अपेक्षा गरेको, एकलमहिलालाई कृषिकर्जा प्रवाह जटिल रहेको संघका महासचिव प्रतिमा श्रेष्ठले बताइन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरिमान श्रेष्ठले पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी विभिन्न विषय समेटी प्रस्तुतिकरण दिएका थिए । मन्त्रालयका वरिष्ठ कृषिप्रसार अधिकृत पन्थीले कृषि सम्बन्धमा कार्यपत्र प्रस्तुतिकरण गरेकी थिइन् ।

कार्यक्रममा कृषि विकास बैंकका अधिकृत संजय विष्टले बैंकिङ विषय, कर्जाप्रवाह, अनलाइन बैंकिङ जस्ता विषय समेटी प्रस्तुतिकरण गरे । संघका कृषिप्रवद्र्धन समिति सदस्य तथा युवा कृषिउद्यमी फ्रेन्चु लामाले विषादिले मानव जीवनमा पार्ने असर, विषादिको सुरक्षित प्रयोग तथा भण्डारण, कृषि तथा पशुपालनमा सम्भावना र चुनौती, बजार व्यवस्थापन आदि विषय समेटी प्रस्तुतिकरण गरे ।

मकवानपुरका मनहरी, राक्सिराङ, कैलाश, थाहा, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, बकैया र हेटौंडाका कृषकसहित ५५ जनाको सहभागिता रहेको थियो । संघको कृषिप्रवद्र्धन समिति संयोजक पाण्डेले कृषकको विभिन्न विषय समेटी कृषककै लागि समितिले आफ्नो गतिविधि गरिरहेको, मकवानपुरका पालिकाले समन्वय गर्नेगरी संघले कृषकको उत्पादन बिक्रीको लागि पसलकवल निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*