‘गुनको आधारमा सहयोग, दोषको आधारमा खबरदारी गर्नुस’

साझाकुरा
२०८२ असार १५, आईतवार ११:१५

हेटौंडा-प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले मकवानपुरका सञ्चारकर्मीसँग पत्रकारिताक्षेत्रको अवस्था, चुनौती, सुधार र समन्वयका विषयमा गहन छलफल गरेका छन् ।हेटौंडा–४ को भूंग्रो रेस्टुरेन्टमा भएको छलफलमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पत्रकार एवम् राजनीतिकर्मी देवराज रिमाल, नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सहसचिव शिव चौलागाई, कोषाध्यक्ष प्रदीप अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य पुष्पराज अधिकारी, प्रेस चौतारी बागमती प्रदेश महासचिव प्रकाश दाहाल, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल सहित विभिन्न सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी पत्रकारले वर्गीकरण प्रक्रिया ढिलो हुनु, प्रत्येक वर्ष झन्झटिलो ढंगमा कागजात बुझाउनुपर्ने बाध्यता, डिजिटल प्रणालीको अभाव, मापदण्डको अव्यवहारिकता, खण्डन पत्रसम्बन्धी गलत अभ्यास र स्थानीय विज्ञापन सुनिश्चितताजस्ता विषयमा स्पष्ट प्रश्न र सुझाव प्रस्तुत गरे । नेपाल पत्रकार महासघ मकवानपुरका उपाध्यक्ष अधिकारीले वर्गीकरणको नतिजा ढिलाइ हुनु र प्रक्रिया सहज नहुनु पत्रकारिता अभ्यासमै अवरोध भएको बताए । बागमती प्रदेश अध्यक्ष मगरले काउन्सिल दरो नभएसम्म सम्पूर्ण पत्रकारिताक्षेत्र कमजोर बन्ने बताए ।

‘नागरिक पत्रकारिता र व्यावसायिक पत्रकारिता फरक हो भन्ने बुझ्न जरुरी छ’ उनले भने, ‘वर्गीकरण पनि सोही आधारमा हुनु आवश्यक छ ।’ खण्डनपत्र आउँदैमा खबर तुरुन्तै खण्डन गर्नुपर्ने दबाब गलत भएको भन्दै प्रेस काउन्सिलले डिजिटल युगअनुसार आफूलाई सुधार गर्नुपर्ने धारणा राखेका छन् । चौतारीका केन्द्रीय सदस्य अधिकारीले पत्रकारको मापदण्ड व्यवहारिक हुनुपर्ने बताए । चौतारीकी जिल्ला अध्यक्ष दाहालले मकवानपुरमै जन्मिएका सन्तराम बिडारीलाई जिल्लाको पत्रकारिता क्षेत्रमा ‘अभिभावक’को भूमिकामा अग्रसर हुन आग्रह गरिन् । पत्रकार देवराज पन्तले मकवानपुरका उद्योगकलकारखानाबाट जिल्लाकै सञ्चारमाध्यमलाई प्राथमिकता दिँदै विज्ञापन सुनिश्चित गरिनुपर्ने माग राखेका थिए ।

पत्रकारको जिज्ञासाको जवाफ दिँदै बिडारीले प्रेस काउन्सिलले अब तथ्य र प्रमाणका आधारमा मात्र निर्णय लिने, ठाडो उजुरी आएमा पनि अनुसन्धानपछि मात्र पत्र काटिने, वर्गीकरण प्रक्रिया सजिलो बनाउन डिजिटल प्रणालीमा जान लागिएको र मापदण्ड प्रदेशअनुकूल व्यवहारिक बनाउने योजना अघि सारिएको स्पष्ट पारे । उनले खण्डन समाचारको गलत अभ्यास सच्याउने, विज्ञापन स्रोत जिल्लामै सुनिश्चित गर्न नीतिगत पहल गर्ने र मकवानपुरको सन्तानको नाताले जिल्लाकाे पत्रकारिता हितमा सधैँ साथ रहने प्रतिबद्धता जनाए । छलफलमा पत्रकारबाट उठाइएका जिज्ञासा गम्भीर, व्यावहारिक र सुधारमुखी रहेको उल्लेख गर्दै बिडारीले सबै सुझाव संकलन गरी केन्द्रीय तहमा छलफलका लागि लैजाने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*