हेटौंडामा शनिबारदेखि २ दिने रोजगार महोत्सव सुरु
हेटौंडा-५ सय युवालाई अन द स्पट प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्यसहित हेटौंडामा शनिबारदेखि २ दिने रोजगार महोत्सव सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । आइतबारसम्म चल्ने महोत्सवको उद्घाटन बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री महर्जनले समृद्धिको अभियानलाई सार्थक बनाउन रोजगारीको महत्व धेरै रहेको बताए । मन्त्री महर्जनले नेपालमा रोजगारी पाइँदैन भन्ने भाष्य हटाउन जरुरी रहेकोमा जोड दिए । प्रदेश सरकारले उच्चशिक्षा हासिल गरेपछि युवालाई स्वरोजगारीमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाइरहेको उनले बताएका छन् ।
प्रदेशका युवालाई साथमा लिएर समृद्धिको अभियानलाई सार्थक बनाउन लागिपर्ने प्रतिबद्धता मन्त्री महर्जनले व्यक्त गरे । मन्त्री महर्जनले देशलाई आर्थिकरुपमा सबल बनाउनुका साथै रोजगारीको अवसर प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको भूमिका प्रशंसनीय रहेको धारणा राखे । आर्थिक कारणले थला परेका उद्योगी व्यवसायीका लागि पनि प्रदेशसरकारले छलफल गरेर आवश्यक नीति तयार पार्ने उनले आश्वासन दिएका छन् । प्रदेश सरकारले आइटी क्षेत्रमा काम गर्ने जनशक्तिका लागि जब ग्यारेन्टी क्षमता विकास तालिम प्रदान गर्ने तयारी गरेको मन्त्री महर्जनले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाको समेत सहकार्य रहेको महोत्सवमा राष्ट्रिय तथा बहुर्राष्ट्रिय गरी ४० भन्दा बढी कम्पनीको सहभागिता रहेको छ । एक हजारभन्दा बढी युवाले अनलाइनमार्फत् महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका थिए । रोजगार महोत्सवबाट कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी र रोजगारीको खोजीमा रहेका युवा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा अन द स्पट रोजगारीका साथै व्यवसाय गर्न चाहने युवाका लागि क्यारियर मार्गदर्शन, व्यवसायिक अवसर, बजारीकरण तालिम, बैंक कर्जा प्रवाहको तयारी, उद्यमशीलता प्रवद्र्धन, व्यवसायिक तालिम कार्यशाला, आत्मविश्वास विकास, सीभी लेखन, अन्तर्वार्ता तयारीका सीपहरु र विषयगत अन्तरक्रियालगायत कार्यक्रम समावेश गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौंलागाईले बताएका छन् ।
उद्घाटन समारोहमा बागमती प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, जिल्ला समन्य समितिका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेललगायतले मन्तव्य राखेका थिए । अधिकांश वक्ताले बढ्दो युवा पलायन रोक्न स्वदेशमै रोजगारी सृजना हुनुपर्नेमा जोड दिएका थिए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको हो ।







