शिक्षकको आवधिक बढुवा, एसईई प्रदेशबाटै सञ्चालन
हेटौंडा-अब माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेस्तरबाटै सञ्चालन हुने भएको छ । शनिवार सिंहदरबमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसईई यथावत राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो । संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा नराख्नेगरी प्रतिवेदन बुझाएको भएपनि शनिवारको समितिको बैठकले यस्तो सहमति जुटाएको हो ।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारको तर्फबाट यस्तो प्रश्ताव अघि सारेका थिए । मन्त्री पन्तले कुनैपनि तहले कुनै न कुनै परीक्षा लिइरहेकै कारण संविधानको भावनाअनुरुप एसईई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिनु पर्ने प्रश्ताव राखेका थिए ।
उनले विद्यालय शिक्षाको गुणस्तर उकास्नका लागि पनि एसईई परीक्षा प्रदेशस्तरलाई सञ्चालनको जिम्मेवारी दिनुपर्ने बताएका छन् । विधेयक पारित भएपछि एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन हुने व्यवस्था लागू गर्ने सहमित भएको हो । शनिवारको समितिको बैठकले जिल्लामा शिक्षा समन्वय इकाई राख्ने पनि सहमति गरेको छ ।
संविधानको मर्मविपरित नजानेगरी जिल्लामा शिक्षा समन्वय ईकाइ राख्ने समिति सभापति अम्मरबहदुर थापाले राखेको प्रश्तावमा सांसदहरुले टेबल बजाएर सहमति जनाए । विद्यालय शिक्षा विधेयकलाई समितिले पारित गरेपछि संसदमा पठाउनेछ । संसदबाट पारित भएपछि सहमति भएको व्यवस्थाहरु कार्यान्वयनमा जानेछन् । विधेयकलाई अन्तिम रुप दिनेगरी समितिको अर्को बैठक आइतवारका लागि बोलाइएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले शिक्षकको आवधिक बढुवासम्बन्धी प्रस्तावमा सहमति जनाएको छ । शनिबार बसेको समितिको बैठकमा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ वर्ष सेवाअवधि पूरा गरेका शिक्षकलाई आवधिक बढुवाका लागि योग्य ठहर गरिने निर्णयमा सहमति जुटेको हो । बैठकमा प्रस्तावमाथि सदस्यले आआफ्नो धारणा राखेका थिए । छलफलपछि समितिका सदस्यले प्रस्ताव पारित गर्न सर्वसम्मत सहमति जनाएका थिए ।







