बागमती प्रदेशमा २० दशमलब ५ प्रतिशत धानरोपाईँ
हेटौंडा-देशभरि असार दोस्रो सातासम्म १५ प्रतिशत धानरोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले यो तथ्यांक सार्वजनिक गरेको हो ।विभागको तथ्यांक अनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा मात्र रोपाइँ भएको हो । गतवर्षको तुलनामा २ प्रतिशतले कम धानरोपाईँ भएको हो । गतवर्ष १४ असारसम्मको अवधिमा १७ दशमलब २ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष सोही अवधिमा १५ दशमलब ६ प्रतिशत मात्रै भएको छ ।
बागमती प्रदेशमा २० दशमलब ५ प्रतिशत धानरोपाईँ भएको विभागले जनाएको छ । देशका सात प्रदेशमध्ये सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५ दशमलब ५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै कर्णाली प्रदेशमा ३९ दशमलब १ प्रतिशत, लुम्बिनी ९ दशमलब ७, गण्डकी १३ दशमलब ८, मधेश ३ दशमलब ९ र कोशी प्रदेशमा १४ दशमलब ३ प्रतिशत रोपाइँ भएको छ ।







