प्राङ्गारिक कृषि कार्यक्रमले महिलाको जीवनस्तर फेरिँदै
हेटौंडा- मकवानपुरको थाहा नगरपालिका–१ टाखेलकी कृषक समिता थोकर तब दंग परिन् जब उनले खेती गरेको त्यति नै गाँजरको बीउले अरुकोे भन्दा बढी उत्पादन दियो । आफैंले बनाएको प्राङ्गरिक मल प्रयोग गरेर उनले १०० ग्राम गाँजरको बीउबाट नमूनाखेती सुरु गरेकी थिइन् । गाँजरले बजार पनि राम्रै पायो । टाखेलकै एकलमहिला साइली विकको पनि खेतीपाती जीवनयापनको सहयोगी बनेको छ ।
श्रीमान्को सहारा टुटेपछि घरमा एक्लै बस्दै आएकी साइलीलाई सरकारले दिने सामाजिक सुरक्षाभत्तामा खेतीको कमाइ पनि थपिएपछि अझै केही गर्छु भन्ने आँट पलाएको छ । थाहा नगरपालिकामा समिता र साइलीजस्ता एक सय विपन्न जनजाति र दलित महिला अर्गानिक खेतीमा रमाउन थालेका छन् । उनीहरुलाई भरथेग गर्न गैरसरकारी संस्थाको सहयोगमा एक वर्षदेखि नवीकरणीय उर्जा तथा प्राङ्गरिक कृषि कार्यक्रम सञ्चालित छ ।
संयुक्त राष्ट्रसंघ, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग तथा सीडेफ नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमले सकारात्मक नतीजा दिन थालेको छ । नवीकरणीय उर्जा तथा प्राङ्गारिक कृषि कार्यक्रम अधिकृत भवानी प्रधानका अनुसार थाहा नगरपालिका वडा नं. १, २ र ७ का आदिवासी जनजाति तथा दलित परिवारका महिलालाई प्राङ्गारिक खेतीसम्बन्धी तालिम दिइएको छ । उनीहरुले प्राङ्गारिक मल उत्पादन गर्न सिकेका छन् । त्यतिमात्र नभएर कृषकलाई व्यावसायिक तरकारीखेतीका लागि बीउ प्रदान गरिएको थियो ।
टाखेलका समिता र साइलीले कार्यक्रमबाटै तरकारीको बीउ सहयोग पाएका थिए । प्राङ्गारिक प्रणालीबाट खेती गर्दा के उत्पादन लिन सकिएला र भन्ने लाग्थ्यो उनलाई । तर, जब त्यति नै बीउले रासायनिक मल प्रयोग गर्नेहरुको भन्दा दोब्बर उत्पादन भयो, अनि उनलाई प्राङ्गारिक पद्धतिबाट पनि राम्रै उत्पादन हुन्छ भन्ने विश्वास जाग्यो । ‘३ जना सन्तान अनि म एक्लो, दैनिक जीवन धान्न पनि मुश्किल थियो । संस्थाको सहयोगले आम्दानी बढ्न थालेपछि अहिलेपरिवार चलाउन सहज भएको छ,’ उनले भनिन् ।
कार्यक्रमअन्तर्गत् थाहाको लक्षितक्षेत्रमा महिलाले कृषक समूह गठन गरेर प्राङ्गारिक खेती अभियान चलाएका छन् । थाहा–१ मा पशुपति कृषक समूह, २ मा फेदीगाउँ कृषक समूह र ७ मा शुभारम्भ तथा जनजाति कृषक समूह प्राङ्गारिक खेतीमा क्रियाशील भएको कार्यक्रम अधिकृत प्रधानले जानकारी दिइन् । कार्यक्रमअन्तर्गत् प्राङ्गारिक खेतीसँगै लक्षितवर्गका परिवारलाई धुँवारहित विद्युतीय चुलो वितरण गरिएको छ ।
परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ निःशुल्क विद्युतीय चुलो वितरण गरिएको हो । धुवाँरहित चुलोको प्रयोगले दाउरा प्रयोगमा कमी भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम खर्चमा कमी आएको प्रयोगकर्ता महिलाले बताएका छन् । कार्यक्रम अधिकृत प्रधानका अनुसार थाहाका केही सार्वजनिक स्थानमा सौर्यउर्जा पनि जडान गरिएको छ ।







