बकैयाले ल्यायो ९१ करोडको बजेट, कृषि प्राथमिकतामा

साझाकुरा
२०८२ असार १७, मंगलवार १२:३६

हेटौंडा-पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमवार एघारौँ गाउँ सभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष ०८२÷८३ को लागि प्रस्तुत गरेको बजेट चालु आवको भन्दा एक करोड ८७ लाख ४९ हजार कम हो । बकैयाले चालु आर्थिक वर्षका लागि ९३ करोड ५९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष ०८२÷८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तरसरकारी वित्तीयहस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

विनियोजित बजेटमध्ये पूँजीगत खर्चतर्फ २८ करोड ६ लाख ९१ हजार, चालुतर्फ ६३ करोड ६५ लाख ५९ हजार बजेट बिनियोजन गरिएको छ । त्यस्तै नेपाल सरकारबाट सशर्त अनुदान ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ९५ लाख ५० हजार सहित जम्मा ३९ करोड ६३ लाख ५० हजार प्राप्त रकमलाई खर्च गरिने उल्लेख छ । पूर्वाधार निर्माण गर्न ५ करोड, पोषणमैत्री स्थानीयतह घोषणा गर्न ७५ लाख, चिस्याकेन्द्र निर्माण गर्न ६५ लाख, हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडामा ४० लाखका दरले ४ करोड ८० लाख तथा कार्यपालिका सदस्यलाई ८ लाखको दरले ४८ लाख सहित ५ करोड २८ लाख बजेट बिनियोजन गरिएको छ ।

कृषि औद्योगिकग्राम सञ्चालनका लागि २ करोड, कृषि औद्योगिकग्रामको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, कोल्डस्टोर निर्माण गर्न अनुदानसहित एक करोड ३० लाख बजेट बिनियोजन गरिएको छ । पालिकाले ल्याएको बजेटमा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको हो । गाउँसभामा पालिका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रसाशकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा उपभोक्तालाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा उत्कृष्ट उपभोक्ता समितिको रुपमा बकैया–१ को कत्लेखोला कल्भट निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायीमा विएण्ड वी कन्ट्रक्सन, करदातामा कुमाररोशन सिचुआन जेभी, गैरसरकारी संस्थातर्फ एस्थर बेन्जामिन मेमोरियल संस्था तथा उत्कृष्ट रोजगारदाता शिवपुरी फ्रेस डेरीलाई सम्मानगरिएको हो । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ बकैया–६ मा रहेको जुइना आधारभूत स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी शान्ति पाख्रिन, ११ नंं वडा कार्यालयका कार्यालय सहयोगी शेरमान गोले, हात्तिसुँडे आधारभूत स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक चन्द्रबहादुर भ्लोनलाई नगद पाँच हजार सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै शिक्षातर्फ उत्कृष्ट शिक्षण गर्ने बकैया–५ किसान जागरुक सिद्धार्थ प्राविका शिक्षिका सम्झना रुम्बा, कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–७ माटोकोरी आविका प्रअ शिवप्रसाद बोलखे, एसईइ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–९ बाघभैरव माविका रमेशकुमार लामालाई नगद पाँच हजारसहित सम्मान गरियो । त्यस्तै सिमात आधारभूत स्वास्थ्य केन्द्रमा निरन्तर विवादरहित सेवा तथा गाउँघर क्लिनिकलाई प्राथमिकतामा राखी कार्यगर्ने वीनाकुमारी स्याङतान, पशुविकास सेवातर्फ रामकृष्ण तिमल्सिना, कृषि विकास सेवातर्फ भावना अधिकारी, प्राविधिक कर्मचारीतर्फ मोहमद मेराजआलम, वडासचिवतर्फ युवराज ठाडामगरलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।

सर्वोत्कृट कर्मचारीतर्फ सहायक प्रहरीनिरीक्षक प्रमोद थापालाई नगद १० हजार सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष लामिछाने, उपाध्यक्ष खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पालिका कर्मचारीको सहभागिता रहेको थियो ।

थाहा नगरपालिकाको ९०
करोड ३० लाखको बजेट पारित

मकवानपुरको थाहा नगरपालिकाको बजेट पारित भएको छ । नगरपालिकाको १६ असारमा सम्पन्न १८ औं अधिवेशनको दोस्रो बैठकले बजेट छलफलसहित पारित गरेको हो । नगरउपप्रमुख भरत गोपालीले सभामा आर्थिक वर्ष २०८२÷८३ को लागि ९० करोड ३० लाख रुपैया बजेट पेश गरेका थिए । बजेटमा पालिकाले चालू खर्चमा ६० र पूँजीगत खर्चमा ४० विनियोजन गरेको जनाएको छ ।

थाहा नगरपालिका लागि संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ३९ लाख, समपूरक अनुदान ४९ लाख, विशेष अनुदान २ करोड, सशर्त अनुदान ३१ करोड ६६ लाख, राजस्व बाँडफाँड १० करोड ७० लाख, रोयल्टी १ करोड १९ लाख गरी जम्मा ५८ करोड ४३ लाख रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड २५ लाख, समपूरक अनुदान २ करोड ८८ लाख, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान २ करोड ४९ लाख र राजस्व बाँडफाँड ५ करोड ७८ लाख रहेको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) १६ करोड ८० लाख र मालपोत २ करोड गरी जम्मा १८ करोड ८० लाख आम्दानी हुने बजेटमा उल्लेख छ । अधिवेशन नगरप्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्य तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*