थाहा–३ ले सुरु ग¥यो पशु सुत्केरीभत्ता
हेटौंडा- मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ ले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै ‘पशु सुत्केरीभत्ता’ कार्यक्रमलाई समावेश गरेको छ । सार्वजनिक गरिएको बजेट विवरणअनुसार यो कार्यक्रमका लागि २ लाख पचास हजार बजेट विनियोजन गरिएको छ । वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीलेपशुपालनलाई आत्मनिर्भर र व्यवस्थित बनाउने उद्देश्यले पशु सुत्केरीभत्ता कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले भने, ‘हाम्रा किसान अझै पनि परम्परागत तरिकाबाट पशुपालन गर्दै आएका छन् । उनीहरुलाई आधुनिक र प्रोत्साहनात्मक उपायबाट समर्थन गर्न आवश्यक छ । सुत्केरी भएको पशुलाई उचित स्याहार गर्ने प्रबन्ध मिलाउन यो भत्ता उपयोगी बन्नेछ ।
उनले थपे, ‘हामी कृषिमा मात्र नभई पशुपालनमा पनि आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दैछौं । यो कार्यक्रमले गाउँका किसानलाई आर्थिकरुपमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।’ यसबाहेक वडा नं. ३ ले कुल १६ वटा कार्यक्रम समावेश गरी ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ, जसमा कृषिविकास, साना पूर्वाधार विकास, गृहिणी प्रोत्साहन, ऊर्जा प्रवद्र्धन, शैक्षिक विकास, रोजगारमुलक साना पूर्वाधार विकास लगायत विभिन्न विषय समेटिएका छन् । पशुपालनमै आत्मनिर्भर हुने सोचसहित अघि बढाइएको पशु सुत्केरीभत्ता कार्यक्रमले वडाका किसानमा सकारात्मक सन्देश फैलाउने र पशुपालन व्यवसायलाई थप व्यावसायिक बनाउने विश्वास लिइएको छ ।







