बागमतीमा पहिलोपटक १५ चालक र सहचालको सम्मान
हेटौंडा- बागमती प्रदेश सरकारले अनुशासित र मर्यादितरुपमा सवारी सञ्चालन गर्ने चालकहरुलाई पहिलोपटक सम्मान गरेको छ ।प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उत्कृष्ट चालक र सहचालक सम्मान कार्यक्रमअन्तर्गत् बुधवार १५ जना चालक र सहचालकलाई सम्मान गरेको हो । श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, महासचिव सरोज खनालले चालक, सहचालकलाई सम्मान प्रदान गरेका थिए ।
सम्मानित १५ जना चालक, सहचालकमध्ये तीनजना महिलाचालक छन् । चालकहरु नवीना खड्का, सरिता गौतम, जानुका गौतम सहित यादव थपलिया, कान्छा श्रेष्ठ, शरणसिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा सम्मानित भएका हुन् ।उनीहरुलाई जनही १५ हजार नगद प्रदान गरिएको श्रम, रोजगार तथा यातायात महाशाखा प्रमुख सुनिता गजुरेलले जानकारी दिइन् । चालकको छनोट नारायणी यातायात व्यवसायी संघले गरेको हो ।
संघले गरेको मूल्यांकन, छनोट र सिफारिसलाई मन्त्रालयस्तरको मूल्यांकन समीक्षा समितिले समीक्षा गरी सम्मानित हुने चालक, सहचालकको नामावली टुंगो लगाएको थियो । यातायात मन्त्री महर्जनले लामो रुटको चालक उत्पादन घटेकोमा चिन्ता व्यक्त गरे । श्रम, रोजगार तथा यातायात मन्त्री महर्जनले लामो रुटको चालक उत्पादन घटिरहेकोले मन्त्रालयले प्रोत्साहन कार्यक्रम ल्याएको बताए ।
चालकहरुको प्रोत्साहनकै लागि सम्मान कार्यक्रम राखिएकोले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि लामो रुटको चालक उत्पादन गर्न बजेट बिनियोजन गरिएको बताए । लामो रुटको सवारीचालक बुढापाका भएर विदा भएपछि नयाँ युवा उत्पादन हुन नसकेको उनको चिन्ता थियो । उनले २ सय ४५ जना महिला चालक उत्पादनमा पनि मन्त्रालयले तालिमलगायत कार्य गरिरहेको बताए ।
उनले व्यवसायलाई मर्यादित पेशा बनाउनुपर्नेमा जोड दिए । ट्राफिक नियमको पालना गरेर सवारी सञ्चालन गर्न चालकहरुलाई अनुरोध गरे । यात्रुको गुनासाको सम्बोधन हुने गरी सुरक्षित यात्राको प्रत्याभूति दिलाउनुपर्ने चालकको दायित्व रहेको मन्त्री महर्जनले बताए । कार्यक्रममा विज्ञ सल्लाहकार तुलसी रिजाल, महाशाखा प्रमुख बिमलप्रसाद भट्टराई र सुनिता गजुरेल, यातायात व्यवस्था कार्यालय चितवन भरतपुरका प्रमुख विष्णुकुमार भट्टराई, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष विष्णु विडारी, महासचिव खनाल, मूल्यांकन समिति सदस्य विश्वराज राईलगायतको उपस्थिति थियो ।







