हेटौंडा–१६ मा भूमि आयोगको अभिमुखीकरण तथा अन्तरक्रिया
हेटौंडा-भूमि समस्या समाधान आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडामा अन्तक्र्रिया सम्पन्न गरेको छ ।आफ्नो अभियानलाई निरन्तरता दिइने क्रममा आयोगले बुधवार १६ नम्बर वडामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया गरेको हो । यसअघि आयोगले १० वटै स्थानीय तहमा र त्यहाँको वडामा जिम्मेवारी दायित्व सँगसँगै पहिचान र प्रमाणिकरण कसरी गर्ने र वडातह र पालिका तहको काम, कर्तब्यसम्बन्धी अन्तरक्रिया सञ्चालन गरिसकेको छ ।
आयोग अध्यक्ष बलराम बलले वडाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणिकरण भैसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ६० दिनसम्ममा लालपूर्जा वितरण गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता गरे ।
वडाअध्यक्ष रामकृष्ण कोइरालाले वडा कार्यालयमा प्राप्त भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको पहिचान भएको ५० फाइल र अव्यवस्थित बसोबासीको पहिचान भएको ५ सय ३० फाइल गरी कुल ५ सय ८० फाइल प्रमाणीकरण गरी ५ सय ३० फाइल कम्प्युटरमा प्रविष्ट भैसकेको र बाँकी रहेका फाइल कम्प्युटरमा प्रविष्ट गर्ने कार्य भैइरहेको बताए ।आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार १६ नम्बर वडाबाट प्रमाणिकरण गरिएका फाइलमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित गरी ५ सय ३० परिवारको पहिचान भइसकेको छ ।







