हेटौंडा–२ मा फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने

हेटौँडा-हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने भएको छ । वडा कार्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै शान्तिटोलस्थित मकवानपुर उद्योग वाणिज्य संघ चोकदेखि लोकप्रिय होटलसम्मको सडकखण्डमा सडकछेउका अस्थायी टहरा, संरचना र अन्य अव्यवस्थित निर्माण गरिएका टहराहरु हटाइने जानकारी दिएको हो । यो क्षेत्रमा पेटीको व्यवस्था नहुँदा पैदलयात्री सीधै मुख्य राजमार्गबाट हिँड्न बाध्य छन् । सडकमा सवारीचाप उच्च भएकाले पैदलयात्रीको सुरक्षामा गम्भीर जोखिम देखिएको छ ।
वडाका अनुसार, साइड क्लियरेन्सको क्रममा ढलबाट तीन मिटरभित्र रहेका अस्थायी टहरा, टिनका घर, टेबल, कुर्सी लगायत वस्तु हटाइने छन् । यसपछि यो क्षेत्रमा व्यवस्थित ढंगले फुटपाथ निर्माण गरिनेछ । सम्बन्धित सडक त्रिभुवनराजपथअन्तर्गत पर्ने भएकाले ५० मिटर सडक विस्तारको योजना स्थगित भएको छ ।
विस्तारकार्य नहुदाँ तत्कालीन आवश्यकता सम्बोधन गर्न साइड क्लियरेन्स गर्ने निर्णय गरिएको वडाले जनाएको छ । यो प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनअनुसार अघि बढाइनेछ । वडा नं. २ ले नगरलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन सबै स्थानीयबासी, घरधनी र व्यवसायीको सहयोग अपेक्षा गरेको छ ।