शुक्रबार उपमहानगरले सबै सेवा स्थगन गर्ने
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आफ्ना निर्वाचित जनप्रतिनिधिमाथि भइरहेको निरन्तर आक्रमणप्रति विरोध जनाउँदै शुक्रबार एक दिनका लागि सबै सेवा स्थगन गर्ने भएको छ ।वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै मोबिल छ्यापिएको घटना सेलाउन नपाउँदै बिहीबार पुनः वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलमाथि थप्पड प्रहार भएपछि उपमहानगरले यस्तो निर्णय गरेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मीनाकुमारी लामाले जनप्रतिनिधि माथिको आक्रमण सह्य नभएको भन्दै शुक्रबार उपमहानगरका सबै सेवा बन्द गर्ने जानकारी दिइन् ।
नगरप्रमुख लामाले भनिन्, ‘हाम्रो जनप्रतिनिधिहरु निरन्तर आक्रमणको सिकार भइरहेका छन् । यस्तो असुरक्षित वातावरणमा सेवादिन गाह्रो हुन्छ । त्यसैले हामीले कार्यपालिका बैठकबाट निर्णय गरेर सेवा बन्द गर्ने घोषणा गरेका हौ ं।’ बिहीबार बिहान वडा नम्बर ४ स्थित हुप्रचौरतर्फको सडक विस्तारका क्रममा अध्यक्ष सिग्देलमाथि निर्माण व्यवसायी मञ्जु लामाले थप्पड प्रहार गरेको प्रहरीले जनाएको छ । सडकको अवस्था र निर्माणको ढिलाइबारे छलफल भइरहेका बेला लामाले भिडियो खिच्न थालेपछि विवाद चर्किएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार, अध्यक्ष सिग्देलले ‘भिडियो नखिच्न’ भन्दै मोवाइल रोकेका बेला महिला व्यवसायीले आक्रोशित हुँदै थप्पड हानेकी हुन् । घटनापछि लामालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।







