गढी–५ मा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने

साझाकुरा
२०८२ असार २२, आईतवार ११:३८

हेटौंडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ५ मा जेष्ठ तथा अशक्त नागरिकलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता रकम वितरण हुने भएको छ । गाउँपालिकाले मक्रान्चुली केन्द्रमा रहेको नबिल बैंकसम्म आफ्नो पालिकाभित्र बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई समस्या भएपछि वडास्तरबाट २०८० माघ ४ गतेदेखि सेवा सुरु गरेको थियो । पालिकाले हालसम्म वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने काम वडा नम्बर १,२,६,७,८, मा गरी जम्मा ५ वटा वडाबाट वितरण गरिसकेको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिएका छन् ।

यसअघि सामाजिकसुरक्षा भत्ता लिनका लागि मकवानपुरगढीका नागरिक तीनचार घण्टा पैदल हिँडेर गाउँपालिका नजिक रहेको नबिल बैंकमा जानुपर्ने बाध्यता हटेको मकवानपुरगढी गाउपालिका–५ का वडाअध्यक्ष दिपेश दाहालले बताए । आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमामा नै सबै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लक्ष्य अनुसार आर्थिक वर्ष २०८१÷८२ को चौथो किस्तादेखि सामाजिक सुरक्षा भत्ता रकम वडा कार्यालयबाटै वितरण गर्नको लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको औंठाछाप बैकिंङ् प्रणालीमा प्रविस्ट गर्ने काम सम्पन्न भएको वडाअध्यक्ष दाहालले बताए ।

मकवानपुरगढीका ८ वटा वडामध्ये ४ नं. वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरणको काम बाँकी रहेकोले यही साउन २ गते र ३ गते लाभग्राहीको औंठाछाप बैकिंङ् प्रणालीमा प्रविष्ट गर्ने काम हुने र योसँगै मकवानपुरगढी गाउँपालिकामा सबै वडाबाट सामाजिक सुरक्षा भत्ता रकम वितरण कार्यले पूर्णता पाउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*