ढाका कपडा बुन्ने निःशुल्क एड्भान्स तालिम प्रदान
हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा १६ जना महिलालाई ढाका कपडा बुन्ने १ सय ६० घण्टे निःशुल्क एड्भान्स तालिम प्रदान गरिएको छ ।हेटौंडा महिला समूहको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम भएको हो । महिलालाई ढाकाउद्यमीतर्फ प्ररित गर्न तालिम प्रदान गरिएको महिला समूहले जनाएको छ । सीतादेवी थापामगरले ढाका कपडा बनाउने सम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।
समूहकी अध्यक्ष सीता सुवेदी पाठकको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो । समापन कार्यक्रममा १० नम्बर वडाअध्यक्ष फुर्वादोर्जे लामा, वडासदस्य इश्वर मैनाली, जाल्पादेवी महिला केन्द्र्र अध्यक्ष गीता मैनाली, उद्योग शाखाप्रमुख महेन्द्र चापागाईं, उद्योग अधिकृत गरिमा सिग्देल, सेव हाउसकी प्रमुख विनिता बर्तौला, दिदीबहिनी समूहकी अध्यक्ष जुना श्रेष्ठलगायतको उपस्थिति थियो ।







