कृषियन्त्र तथा उपकरण वितरण

हेटौंडा-‘कृषिउत्पादनमा यान्त्रिकीकरण प्रवद्र्धन गर्दै स्थानीय कृषकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने’ उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले कृषियन्त्र तथा उपकरण वितरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई आधुनिक कृषियन्त्र हस्तान्तरण गरिएको हो । कार्यक्रम ‘स्वच्छ, उत्पादनशील, समृद्ध सहर हेटौंडा’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमै आयोजित गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा, नगरउपप्रमुख राजेश बानियाँ, आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, कृषि विकास शाखाप्रमुख प्रदीप रेग्मीलगायत जनप्रतिनिधि, कर्मचारीहरु तथा लाभार्थी कृषकको सहभागिता रहेको थियो । कृषि विकास शाखाका अनुसार आर्थिक वर्ष २०८१÷८२ को कृषियन्त्रीकरण प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५०% अनुदानमा १९ वटा हाते ट्याक्टर ७१ वटा स्प्रे पम्प ७९ वटा ज्याब प्लन्टर १ कम्बाइन मिल १ पानी तान्ने पम्प र ४१ वटा मकै छोडाउने मेसिन हस्तान्तरण गरिएको थियो ।