पछिल्लो ३ वर्षयता बागमती सरकारको बजेट खर्चमा सुधार

साझाकुरा
२०८२ असार २९, आईतवार १२:३७

हेटौंडा- बागमती प्रदेश सरकारको बजेटखर्च पछिल्लो ३ वर्षयता सुधार भएको देखिएको छ । प्रदेश लेखानियन्त्रक कार्यालय हेटौंडाको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश सरकारले ७४ दशमलब ५ प्रतिशत बजेटखर्च गरेको छ, जुन पछिल्लो ३ वर्षयताकै उच्च हो । चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरको थियो । असारमसान्तसम्म ४७ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा भने बजेटखर्च अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बृद्धि भएको थियो ।

सो वर्ष ६२ अर्ब ७० करोड ९१ लाख बजेट ल्याएको प्रदेश सरकारले ६९ प्रतिशत अर्थात् ४४ अर्ब ५५ करोड ३३ लाख रुपैंयाँ बजेटखर्च गरेको हो । त्यसैगरी आर्थिक वर्ष २०७९÷८० मा ६६ दशमलब ०६ प्रतिशत बजेट खर्च भएको थियो । प्रदेशको कुल विनियोजित ७० अर्ब ३३ करोड ३३ लाख बजेटमध्ये ४६ अर्ब ६६ करोड २० लाख रुपैयाँ मात्र खर्च भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सो वर्ष खर्च प्रतिशत २३ दशमलब १४ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको चालुतर्फको खर्च बढेको र पुँजीगततर्फ घटेको छ । चालु आर्थिक वर्षमा चालुतर्फको खर्चमा १० प्रतिशतले वृद्धि हुँदा पुँजीगत खर्च ० दशमलब ९६ प्रतिशतले घटेको छ । लेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷८० मा चालुतर्फको बजेटखर्च ६७ प्रतिशत भएको थियो भने पुँजीगत खर्च ६७ दशमलब ७७ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा चालुखर्च घटेर ६० दशमलब ७५ प्रतिशतमा सीमित हुँदा पुँजीगत खर्च ७९ दशमलब ४६ प्रतिशत पुगेको थियो । २०८१÷८२ मा चालुखर्च तीव्रवृद्धि भएर ७१ दशमलब ५० प्रतिशत पुगेको छ भने पुँजीगत खर्च ७८ दशलब ५० प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारका संरचना वृद्धि भएका छन् । प्रदेश सरकारले नयाँ एक मन्त्रालयसहित विभिन्न निकायका कार्यालय र प्रशासनिक संरचना निर्माण गरेर कर्मचारी तथा पदाधिकारी खर्च गर्दा चालु खर्चमा वृद्धि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*