विश्व स्वास्थ्य संगठन प्रतिनिधिद्वारा बागमती प्रदेशस्तरीय भ्रमण
हेटौंडा- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि टोलीबीच छलफल भएको छ ।प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर, स्वास्थ्य सचिव डा.सुमित्रा गौतम, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, तथा महाशाखा प्रमुखहरु सागरप्रसाद घिमिरे, डा. खगेश्वर गेलाल,
किरण श्रेष्ठलगायतसँग विश्व स्वास्थ्य सगठन नेपालका प्रतिनिधि डा.राजेश सम्भाजी राव पाण्डव नेतृत्वको उच्चस्तरीय टोलीले दुईदिने प्रदेशस्तरीय समन्वय भ्रमण र छलफलगरेको हो ।
भ्रमण टोलीमा सिनियर हेल्थ पोलिसी एड्भाइजर डा. ग्याम्पो दोर्जे, डा.बिनोद गुप्ता, सुधन ज्ञवालीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले हालै सार्वजनिक गरेको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका र प्रदेश स्वास्थ्य नीति डब्लुएचओ नेपाल प्रमुख डा.पाण्डवलाई हस्तान्तरण गर्दै संस्थागत सहकार्यलाई थप सुदृढ बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रादेशिक रणनीतिक योजना तर्जुमा, सबै नीतिमा स्वास्थ्यको कार्यान्वयन, एक जिल्ला एक स्वस्थ सहर, एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य प्रवद्र्धन र आत्महत्या न्यूनीकरण, एक विद्यालय एक नर्स कार्यक्रम, अस्पताल सुधार आयोजना, आमा तथा नवजातशिशु सेवा, एक स्वास्थ्य संस्था एक ग्रामीण अल्ट्रासाउण्ड, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्यापन सुरुवात, नसर्ने रोगको रोकथाम र उपचारको लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाको हवाइउद्दार, आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका औषधि उत्पादन, अस्पतालमा तथ्यांकको अभिलेखिकरण र प्रतिवेदन प्रणालीलाई डिजिटलाइजेसन, प्रदेशका दुग्रम स्थानमा विशेषज्ञ सहितको एकीकृत जनस्वास्थ्य अभियान, अटिजम, सिकलसेल एनिमिया, हेमोफिलिया जस्ता समस्याको उपचार, विद्यालयमा अध्ययरत विद्यार्थीको श्रवणशक्ति, आँखाको दृष्यशक्ति, ¥युम्याटिक हर्ट डिडिज जस्ता समस्याको स्क्रिनिङ र उपचार आदि प्राथमिकता प्राप्त कार्यक्रम भएकोले सहकार्य र सहयोगको बिषयमा छलफल भएको थियो ।
स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सचिव डा.गौतमले बागमती प्रदेशमा डब्लुएचओले पु¥याएको प्राविधिक र मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै, प्रदेशका प्रमुख उपलब्धि, प्राथमिकता प्राप्त कार्यक्रम, तथा आगामी आर्थिक वर्ष २०८२÷८३ को रणनीतिक योजना प्रस्तुत गरेकी थिइन् । विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. पाण्डवले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेका उपलब्धीमुलक कार्यको प्रशंसा गर्दै सबै नीतिमा स्वास्थ्यको प्रभावकारी कार्यान्वयन, स्वास्थ्यक्षेत्र रणनीतिक योजना, स्वस्थ्य सहरको अवधारणा आदिमा विश्व स्वास्थ्य संगठनको निरन्तर सहयोग रहने बताए ।
यसका अतिरिक्त खोप र खोपबाट बच्न सकिने रोगहरु, नसर्ने रोगको रोकथाम र नियन्त्रणमा मिलेर काम गर्ने बताएका छन् ।हेटौंडा आउनु अगाडि टोलीले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा ‘हाइपरटेन्सन केयरक्यास्केट इनिसियटिभ’ को स्थलगत अनुगमन गरी मेयर, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसँग छलफल गरेको थियो । साथै, सिन्धुपालाञ्चोकको चौतारा अस्पतालमा ‘मानसिक स्वास्थ्यको लागि स्पेसल इनिसियटिभ’ कार्यक्रम कार्यान्वयनको अवस्था अवलोकन गर्नुका साथै पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा सहभागिता जनाएको भुषालले जानकारी दिएका छन् ।







