असार अन्तिमसम्म बागमतीमा ७६ प्रतिशत रोपाइँ
हेटौंडा- यसवर्ष बागमती प्रदेशमा असारको अन्तिम सातासम्म ७६ दशमलब ४८ प्रतिशत रोपाइँ भएको छ । गतवर्षको यही अवधिमा बागमतीमा ७० दशमलब ६ प्रतिशत रोपाइँ भएको थियो ।गतवर्षभन्दा यसवर्ष धान रोपाइँ राम्रो भइरहेको बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ । प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यसवर्ष समयमै पानीपर्न सुरु गरेकाले राम्रो भइरहेको निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले बताए । उनका अनुसार यसवर्ष बागमती प्रदेशको १३ जिल्लाको कूल एक लाख २० हजार ६१० हेक्टर जमिनमा धानखेती हुने अपेक्षा गरिएकोमा असार २२ गतेसम्म ६२ हजार ४६० दमलब ६८ हेक्टर क्षेत्रफलमा ७६ दशमलब ४८ प्रतिशत रोपाइँ सकिएको हो ।
निर्देशक श्रेष्ठले बागमती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौँ, भक्तपुर र ललितपुरमा सतप्रतिशत रोपाई सकिएको जानकारी दिए । धान रोपाइँ हुने कुल क्षेत्रफल पाँच हजार ९२४ हेक्टर क्षेत्रफल रहेको काठमाडौं, चार हजार १६३ हेक्टर क्षेत्रफल रहेको ललितपुर र दुई हजार ६९९ हेक्टर क्षेत्रफल भएको भक्तपुरमा सतप्रतिशत रोपाइँ सम्पन्न भएको हो । सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । यहाँ जम्मा ४० प्रतिशत मात्रै रोपाइँ भएको निर्देशक श्रेष्ठले जानकारी दिए । धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिए पनि यसवर्ष अहिलेसम्म यहाँ जम्मा चार हजार ४६४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो ।
निर्देशनालयबाट प्राप्त विवरणअनुसार मकवानपुरमा सात हजार ६७ हेक्टर जमिनमध्ये ५९ दशमलब ३ प्रतिशत अर्थात् जम्मा चार हजार १९३ दशमलब ५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यसैगरी, २७ हजार २०७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ८० दशमलब ३ प्रतिशत अर्थात २१ हजार ८५० हेक्टरमा, नुवाकोटमा १६ हजार ४९८ हेक्टर धानखेती हुने जमिनमध्ये ९६ प्रतिशत अर्थात १६ हजार २८९ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ ।
सिन्धुपाल्चोकमा आठ हजार ७८२ हेक्टरमध्ये ६७ दशमलब २ प्रतिशत अर्थात पाँच हजार ९०१ दशमलब ३ हेक्टरमा, दोलखामा दुई हजार ८१४ हेक्टर जमिनमध्ये ९२ प्रतिशत आर्थत २ हजार ५८८ दशमलब ८८ हेक्टर क्षेत्रफलमा, सिन्धुलीमा ११ हजार ४४५ हेक्टर जमिनमध्ये ६३ दशमलब ७ प्रतिशत अर्थात ८ हजार ५६५ हेक्टर क्षेत्रलफलमा र रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा यसवर्ष ६ हजार ५२२ दशमलब ९७ हेक्टर क्षेत्रफलमा अर्थात ८३ प्रतिशत धान रोपाइँ भएको छ ।
१० हजार २१० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने काभ्रेमा ७६ दशमलब १४ प्रतिशत अर्थात सात हजार ७७४ दशमलब २ क्षेत्रफलमा रोपाइँ भएको छ । मन्त्रालयका अनुसार प्रदेशमै सबैभन्दा कम क्षेत्रफलमा धान रोपाई हुने रसुवाको दुई हजार ७१८ हेक्टर क्षेत्रफलमध्ये एक हजार ४९ हेक्टर क्षेत्रफल अर्थात ३७ दशमलब ७० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेशमा रहेको भौगौलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा अझै पर्याप्त मात्रामा पानी नपरेकाले अपेक्षा गरेजति छिटो धानखेती हुन नसकेको निर्देशनालयले जनाएको छ ।







