थाहालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गर्ने बाटो खुल्यो

साझाकुरा
२०८२ श्रावण ३, शुक्रबार ०९:०२

हेटौंडा-मकवानपुरको थाहा नगरपालिकालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गर्ने बाटो खुलेको छ ।वडा नंं. ७ ‘पूर्णसंस्थागत सुत्केरी वडा’ घोषणा भएसँगै नगरपालिकालाई नै पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गर्ने बाटो खुल्ला भएको हो । ७ नं. वडामा तीन आर्थिक वर्षयता सबै महिला स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी भएको पाइएपछि ‘पूर्णसंस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको थाहा नगरपालिका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिएका छन् । अध्ययन प्रतिवेदन अनुसार ‘जिरो होम डेलिभरी’ वडा भएको पाइएपछि घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उनले बताए ।

असार ३२ गते बुधबार वडाको देउखेल सहरी स्वास्थ्यकेन्द्रमा आयोजित एक समारोहकाबीच नगरप्रमुख बिष्णु बिष्टले वडालाइ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । थाहा नगरपालिका प्रमुख बिष्टले थाहाका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागेको बताउदै यस कार्यमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु धन्यवादका पात्र रहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशाशक कृष्ण मिजारले शुभकामना दिदै अब पूर्णसुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने बताएका छन् ।

कार्यविधिअनुसार ९८ प्रतिशत गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी भएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुकाको औषधि खाएको, नियमितरुपमा गर्भजाँच गराएको लगायत मापदण्डअनुसार पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए । पूर्णसुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती रसुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चारपटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्छ ।

१२ नं. वडा रहेको थाहा नगरको यसअघि ११ वटा वडा पूर्णसुत्केरी वडा घोषणा भइसकेको छ । वडा न ७ का वडाअध्यक्ष तथा देउखेल सहरी स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष शिवराज थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहानगरभित्र रहेका स्वास्थ्यसंस्थाका प्रमुखहरु, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर जोनसन बिक, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु वाइबा, थाहा नगरपालिका आर्थिक विकास समिति संयोजक हिरेन्द्रकुमार रायमाझीलगायत स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, महिला स्वयंसेविका, स्वास्थ्यकर्मीलगायत उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडालाई पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गर्न खटिएका स्वास्थ्यकर्मी देउखेल सहरी स्वास्थ्य केन्द्रका अनमी नानीमाया थिङ र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानित गरिएको थियो । स्वास्थ्य केन्द्रका प्रमुख नेमराज थिङले संचालन गरेको कार्यक्रमलाई स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्यसचिव चन्द्रबहादुर थिङले स्वागत गरेका थिए । सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*