‘प्रचण्ड’ गुहार्दै हेटौंडा सिमेन्टका कर्मचारी
हेटौंडा- हेटौंडा सिमेन्ट उद्योगको अवस्था दयनीय बन्दै गएपछि उद्योगका कामदार कर्मचारी प्रचण्ड गुहार्दै काठमाडौं पुगेका छन् । दिनप्रतिदिन उद्योग धरासायी बन्दै गएका कारण उद्योगको समस्या समाधानको पहल गर्न माग गर्दै कामदार कर्मचारीको दौडाहा भएको हो ।हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएका छन् । उद्योग नियमित रुपमा चल्न नसक्दा कामदार कर्मचारीले समयमा तलब खान पाएका छैनन् ।
अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटारहितरुपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गरे । अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाको पटकपटक बैठक बसालेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारी स्वामित्वका उद्योग, कलकारखाना ठप्प पार्ने र निजीक्षेत्रका ब्यवसायीलाई सुम्पने खेल हेटौंडा सिमेन्ट उद्योगमा पनि सल्किएको छ । पुन गुल्जार हुने पर्खाइमा रहेको हेटौंडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५÷७६ देखि निरन्तर घाटामा चल्दै आएकोछ । यो उद्योगको वार्षिक उत्पादन क्षमता प्रतिदिन ७ सय २२ टन हो । तर, क्षमताभन्दा कम परिमाणमा सिमेन्ट उत्पादन गरेका कारण उद्योगले सञ्चालन खर्च धान्न नसकेर बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । हेटौंडा सिमेन्ट उद्योगले कम परिमाणमा क्लिंकर उत्पादन भएकाले बन्द गर्नुपरेको तर्क गरेको छ ।
उद्योगसँग पैसा नभएकै कारण कोइला किन्न नसक्नु र पुराना मेसिननरी, उपकरण बारम्बार बिग्रिरहने कारण नियमित उद्योग चलाउन सकिएको छैन । उद्योग पूर्णक्षमतामा सञ्चालन गर्न हेटौंडा सिमेन्टले सरकारसँग १ अर्ब ९ करोड रुपैयाँ मागेको थियो । तर, सरकारले उद्योगको मागलाई पत्याएन । बरु, उल्टै निजीकरण गर्ने सूचीमा हालिदियो । हेटौंडा सिमेन्टले आव २०७४÷७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
आव २०७५÷७६ मा यो उद्योग १ करोड ५ लाख घाटामा गयो । आव २०७५÷७६ मा २० लाख ८६ हजार ६ सय ६७ बोरा सिमेन्ट बेचेको उद्योगले १ अर्ब ६४ करोड आम्दानी गरेपनि १ अर्ब ६५ करोड खर्च गरेको थियो । त्यसैगरी २०७६÷७७ मा उद्योगले १४ लाख ५५ हजार ९ सय ६ बोरा सिमेन्ट बेचे पनि २३ करोड ८२ लाख रुपैयाँ घाटामा गयो । २०७७÷७८ मा १८ लाख ५३ हजार ७ सय ६४ बोरा सिमेन्ट बेच्दा पनि १७ करोड ४ लाख घाटा बेहोरेको हो । २०७८÷७९ मा १० करोड ६९ लाख घाटा बेहोर्दा १६ लाख १३ हजार ९ सय ६४ बोरा सिमेन्ट बेचेको थियो । हेटौंडा सिमेन्ट उद्योगले २०७९÷८० मा साढे २५ करोड रुपैयाँ घाटा बेहोरेको थियो ।
त्यसबेला सवा ९ लाख बोरा मात्र सिमेन्ट उत्पादन गरेको थियो । गत आव २०८०÷८१ मा उद्योगले सवा ६ लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । ओरालो यात्रा सुरु भएको हेटौंडा सिमेन्ट उद्योग पूर्णक्षमतामा चलाउने दाबी उद्योगका अधिकारीहरुले गरिरहेका छन् । हाल लोडसेडिङले गर्दा पनि उद्योग सञ्चालनमा ल्याउन नसकिएको दाबी छ । अहिले बिहान र बेलुका गरेर ४÷४ घण्टा उद्योगमा बत्ती काटिएको बताइएको छ । समयमै विद्युत महशुल तिरेको भए प्राधिकरणले लाइन काट्ने थिएन ।
बत्तीको व्यवस्था भयो भने उत्पादन सुरु गर्ने योजनामा रहेको उद्योग प्रशासनले जनाएको छ । लामो समयदेखि उद्योग बन्द हुनुको कारण लोडसेडिङ मात्रै होइन, उद्योग सञ्चालनमा अन्य धेरै समस्या छन् । उद्योगका उपकरण पनि मर्मत भएका छैनन् । आर्थिक समस्याका कारण पनि उद्योग सञ्चालन गर्न नसकिएको हो । अहिले उत्पादन ठप्प छ, नियमित खर्च पनि उठिरहेको छैन । तीन महिनादेखि कर्मचारीको तलबभत्ता दिन सकेको छैन । व्यवस्थापकीय कमजोरीका कारण उद्योग बन्द भएको निष्कर्षमा पुगेको सरकारले पैसा दिने निर्णय हालसम्म गरेको छैन । जसरी भए पनि सरकारले उद्योग चलाउन भनेको छ ।
सरकारले जसरी हुन्छ उद्योग चलाउनुप¥यो भनेको छ तर, वातावरण भने बनाउनै खोजेको छैन । त्यसका लागि सरकारबाट आर्थिकपहल केही भएको छैन । यस विषयमा उद्योगमन्त्रीसँग पनि कुरा भइसकेको उद्योग ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । आन्तरिक स्रोतबाटै भएपनि कर्मचारीको तलबभत्ता व्यवस्थापन गर्ने र जसरी हुन्छ उद्योग सञ्चालनमा ल्याएरै छाड्ने गरी काम गरिरहेको अध्यक्ष भण्डारी बताउँछन् । अहिले हेटौंडा सिमेन्ट उद्योगमा १ सय ६८ कर्मचारी छन् । २०३३ सालमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्टको ब्यवसायिक उत्पादन सुरु गरेको थियो ।
सरकारी उद्योग कलकारखानाको पुनर्संरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिंंदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिकवर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए । भेटघाट तथा छलफलमा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला अध्यक्ष विजय गौतम समेत सहभागी थिए ।







