लागूऔषध सहित ६ जना पक्राउ
हेटौंडा-हेटौंडाबाट लागूऔषध ट्रामाडोलसहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–२, सानोपोखराचोकस्थित एक चिया पसलबाट १८८ क्याप्सुल ट्रामाडोल र ५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका घरभई हाल सानोपोखराचोकमा चिया पसल गर्दै आएकी ४२ वर्षीया सरस्वती मुक्तान, सोहीस्थानमा बस्दै आएका १९ वर्षीय रोजन मुक्तान र भारत मोतीहारी घरभई हाल हेटौंडामा रहेका २३ वर्षीय सुल्तान खान रहेका छन् । प्रहरीले उनीहरुको शरीर तथा पसलको तलासी गर्दा लागूऔषध लुकाईछिपाई राखिएको अवस्थामा फेला पारेको थियो ।
पक्राउ परेका तीनै जनालाई लागूऔषधसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।यसैगरी शुक्रबार नै प्रहरीले विशेष सूचनाको आधारमा हेटौडा–२, पुरानो मनकामनापथस्थित घरमा डेरागरी बस्ने वर्ष २१ को अंकित दोङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित फेला पारी रितपूर्वक शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा दोङले लुकाईछिपाई गरीराखिएको अवस्थामा १११ ट्याब्लेट लागूऔषध नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल फेला परे मकवानपुरका प्रहरीप्रवक्ता डिएस्पी श्यामु अर्यालले जानकारी दिएका छन् ।
लागुऔषध बरामद गरी निज दोङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धानकार्य भईरहेको प्रहरीले जनाएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिवार हेटौंडा–१२ झोलु·ेपुलस्थित कान्छा बलको घुम्ती पसल फुटाई सामानहरु चोरी भएको सूचनाको आधारमा चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा पुलस्थित शंकास्पद रुपमा बसिरहेको अवस्थामा वर्ष २२ को नबीन श्रेष्ठ र वर्ष २६ को बिजय बललाई फेला पारी खानतलासी गर्ने क्रममा लागूऔषध नाईट्राभेट २२ ट्याब्लेट र चोरीको ९ (नौ) बट्टा पाइलट चुरोट समेत फेला परेको थियो ।







