दुग्ध सहकारीको दोस्रो काउन्टर संचालनमा
हेटौंडा- जिल्लाभरका दुध संकलन गर्दै आइरहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आफ्नो उद्योगमा उत्पादित दुध तथा दुग्धजन्यपदार्थ बिक्रीका लागि थप नयाँ स्थानमा बिक्री काउन्टर बिस्तार गरेको छ । संघकै कार्यालय परिसरमा काउन्टर सञ्चालन गर्दै आइरहेको संघले शुक्रबार हेटौंडा–४ भैरबरोडमा पनि बिक्री काउन्टर विस्तार गरेको संघका अध्यक्ष हरिप्रसाद कंडेलले बताए ।
अध्यक्ष कंडेल र मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले संयुक्तरुपमा बिक्री काउन्टरको उट्घाटन गरेका हुन् । संघका अध्यक्ष कडेलले यस्ता बिक्री काउन्टर आगामी दिनमा अन्य स्थानमा पनि सञ्चालनमा ल्याइने योजना रहेको बताए । संघले जिल्लामा एकद्वारप्रणालीमार्फत दुधको व्यवस्थापन गर्दै आएको छ ।
अहिले ६६ वटा दुग्ध तथा बहुउद्देशीय सहकारी संस्थाबाट दैनिक ५० हजारदेखि ६० हजार लिटर दुध संकलन एवम् व्यवस्थापन गर्दै आइरहेको अध्यक्ष कंडेलले जानकारी दिए । कृषकको दुधको भुक्तानी व्यक्यौता र मिल्क होलिडे जस्ता समस्या केहिहदसम्म भएपनि स्थानीयक्षेत्रमा विस्तारित बिक्री काउन्टर, स्थानीय बजारिकरणले समाधानका निम्ति सहयोग पुग्ने अपेक्षा राखिएको अध्यक्ष कंडेलको भनाइ छ । संघले संकलन र व्यवस्थापन गरेको दुध मकवानपुरका विभिन्न दुग्ध उद्योग र जिल्ला बाहिर पोखरा, काठमाडौंलयायतका सहरमा खपत हुने गरेको छ ।
मकवानपुर दुग्ध सहकारी उद्योगबाट उत्पादित स्वच्छ तथा गुणस्तरीय दुध एवम् दुग्धजन्यपदार्थ दुध, दही, घ्यू, पनिर, नौनी, मोहीलगायत उत्पादन गर्दै आइरहेको संघका व्यवस्थापक दामोदर अधिकारीले बताए । उद्योगबाट उत्पादित दुग्धजन्य वस्तु काउन्टरबाट बिक्री गरिने अधिकारीले बताए । बिक्री काउन्टर विस्तारसँगै मिल्क होलिडे जस्ता समस्या केहीहदसम्म समाधान हुने अपेक्षा संघले लिएको छ ।







