तीन दिन ठूलो पानी पर्नसक्ने पूर्वानुमान : जलविद्युत आयोजनालाई सतर्क रहन ईप्पानको आग्रह
हेटौंडा- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, (इप्पान) ले जलविद्युत आयोजनाहरुलाई आगामी ३ दिन उच्चसतर्कता अपनाउन आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभागबाट साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ताबिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ती जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना प्रदान गर्दै आएको छ ।
विभागका अनुसार साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । पूर्वी नेपालका कोशी, तमोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायत नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्नसक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वी नेपालबाट सक्रिय हुने मौसमीप्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्लातटीयक्षेत्र प्रभावित हुने अनुमान गरिएको छ ।
४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीयक्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको छ । यसपटकको मौसमीप्रणालीले मध्यनेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देहीलगायत जिल्लामा असर पर्ने मौसम विज्ञान बिभागको अनुमान छ । जसले नारायणी जलाधारको मध्यपहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ । पश्चिममा राप्ती र बबईक्षेत्रमा पनि मध्यमस्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।
मौसम सम्बन्धी पूर्व सूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनालाई विपद्बाट हुनसक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ । गएको असार २४ गते भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका दर्जन जलविद्युत आयोजनामा क्षति पु¥याएको थियो । विगतका वर्षहरुमा पनि बाढीपहिरोले जलविद्युत आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीको ज्यान गएको थियो । आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत उत्पादन बन्द गर्नुपरेको थियो ।
विगतका घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन इप्पानले आग्रह गरेको हो । इप्पानले विपदको बेलामा सबैभन्दा पहिला मानवीय क्षति हुन नदिन जलविद्युत आयोजनाका प्रबद्र्धकलाई आग्रह गरेको छ । त्यसका लागि सबै नदी करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत आयोजनाले बाढी आएको देखिसकेपछि तल्लो तटीयक्षेत्रमा निर्माण भएका आयोजनालाई समयमै बाढीको सूचना दिन भनिएको छ । बाढीबाट हुने क्षति न्युनीकरणका लागि पूर्वतयारी गर्दा गर्दै पनि कहिँकतै मानवीय तथा भौतिक क्षति हुन गइहालेमा सोको जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तीमा भनिएको छ ।
यदि सञ्चालनमा रहेका आयोजना भए विद्युत प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरु बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न पनि इप्पानले सबै जलविद्युत प्रबद्र्धकसँग आग्रह गरेको छ । बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेशनमा बस्ने कर्मचारीलाई प्राप्त हुने हुँदा जलविद्युत आयोजनाका जिम्मेवार व्यक्तिले उनीहरुसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानीय बासिन्दाको जीउधनको सुरक्षाको लागि स्थानीयस्तरमा सूचनाको आदानप्रदान गरिदिन पनि सबै जलविद्युत प्रबद्र्धकमा इप्पानले आग्रह गरेको छ ।







