थप कार्यक्रम गर्ने निर्णय, जनप्रतिनिधिको २ दिने आन्दोलन सकियो
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले वडा नम्बर १ का अध्यक्ष तथा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेमाथि भएको आक्रमणको विरोधमा थालेको दुईदिने आन्दोलन सोमबार सकिएको छ । सांघातिक आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्राउ नगरेको विरोधमा जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, मकवानपुर परिसरबाट सेवाप्रवाह गरेर सांकेतिक आन्दोलन गरेका थिए । आन्दोलनरत जनप्रतिनिधिले आइतबार दुईघण्टा जिल्ला प्रशासन कार्यालय परिसरबाट सेवाप्रवाह गरेका थिए भने सोमबार एकघण्टा मात्रै सेवाप्रवाह गरे ।
उपमहानगरका उपमेयर राजेश बानियाँसहित १० वटा वडाका अध्यक्षहरुको सहभागितारहेको आन्दोलनमा नेपाली कांग्रेसका जिल्लास्तरका नेताको समेत समर्थन रहेको थियो । प्रशासन परिसरमै सांकेतिक आन्दोलन गर्दा पनि छलफलका लागि प्रशासन कार्यालयबाट कुनै पनि पहल नभएको प्रवक्ता न्यौपानेले बताए । बैठक बसेर थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने उनले जानकारी दिए ।
गत असार ४ गते वडा कार्यालयमा काम गरिरहेको अवस्थामा प्रवक्ता न्यौपानेमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी प्रशासनले चासो नदिएको भन्दै जनप्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउनुपर्ने उनीहरुको माग रहेको छ ।







