प्रेस युनियनको अभियान, कक्षा १२ उत्तीर्णलाई मात्र सदस्यता दिइने
हेटौंडा-नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने उद्देश्यसहित सयदिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । साउन ४ गते आइतबार काठमाडौंमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार यो अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ । अभियानअन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीलाई मात्र नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले स्पष्ट पारेका छन् । सोमबार हेटौंडामा सम्पन्न नेपाल प्रेस युनियन मकवानपुरको कार्यसमिति बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियान सञ्चालन गरिने निर्णय गरिएको छ ।
बैठकले केन्द्रीय निर्णय कार्यान्वयन गर्दै मकवानपुरमा संगठन सुदृढीकरणका विविध कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । बैठकले प्रेस युनियन मकवानपुरका सहसचिव प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । युनियनका सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकोले संगठनको कार्यलाई निरन्तर रुपमा गतिशील र चलायमानरुपले सञ्चालन गर्न धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो ।
हेटौंडा सन्देश डटकमका कार्यकारी सम्पादकसमेत रहेका प्रेस युनियनकर्मी सोमलाल घालन ‘भुवन’लाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । युनियन मकवानपुर शाखाले अनुशासनको कारवाहीमा परेर निष्कासित भएका सदस्यहरुलाई केन्द्रको सर्कुलरबमोजिम आत्माआलोचना सहित कारवाही फुकुवाको लागि शाखामा लिखित निवेदन दिन आव्हान गरेको छ ।







