५ वर्षमुनिका १९ प्रतिशत बालबालिका कुपोषित
हेटौंडा- नेपालमा बालविवाहको दर अझै पनि उच्चरहेको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय बालअधिकार परिषद्को बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझैपनि बालविवाहको दर उच्च रहेको देखाएको हो । सोमवार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा प्रतिवेदन प्रश्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् । यसमध्ये ७ प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्ने गरेका छन् भने २२ दशमलब ३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन् । सूचना अधिकारी चन्दले समग्रमा बालविवाहको औसत उमेर १६ वर्ष रहेको बताए ।
उनले बालबालिकाको स्वास्थ्य सम्बन्धी तथ्यांक चिन्ताजनक रहेको उल्लेख गरे । उनले ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताए । उनका अनुसार बाल स्वास्थ्यको अवस्था मधेश प्रदेशमा सबैभन्दा कमजोर रहेको देखाएको छ । ‘जनसंख्याको आधारमा ५४ हजार भन्दा बढी बालबालिकाको १० वर्षमुनि विवाह भएको छ । १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिका ७ प्रतिशत रहेका छन् । १५ देखि १७ वर्षमा विवाह गर्नेहरु २२.३ प्रतिशत रहेका छन् । समग्रमा अहिले बालविवाह ३० प्रतिशत रहेको अवस्था देखिन्छ ।
हाम्रो मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । सूचनाअधिकारी चन्दले भने, ‘नेपालको सन्दर्भमा ५ वर्षमुनिका तौल नपुगेका बालबालिका १९ प्रतिशत रहेका छन् । प्रदेशको हिसावमा सबैभन्दा बढी मधेश प्रदेशमा २७ प्रतिशत रहेको छ । सबैभन्दा कम बागमती प्रदेशमा राम्रो अवस्था देखिन्छ । नेपालमा उचाई नपुगेको बालबालिका कुल बालबालिकाको २५ प्रतिशत रहेका छन् । सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बालस्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेको बताए ।







