सिटी कलेज ई–स्पोट्र्स एरिना प्रतियोगिता आजदेखि सुरु

साझाकुरा
२०८२ श्रावण ८, बुधबार ११:११

हेटौंडा-हेटौंडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा दोस्रो संस्करणको ई–स्पोट्र्स एरिना प्रतियोगिता साउन ७ गतेदेखि सुरुहुने भएको छ । प्रतियोगितासम्बन्धी जानकारी मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत् गरिएको हो ।विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि कम्तिमा १६ वर्ष उमेर पुगेको र एसईई परीक्षा दिइसकेको हुनुपर्नेछ ।

प्रतियोगितामा फ्रीफायर, पब्जी र ई–फुटबल गरी तीनविधामा प्रतिस्पर्धा हुनेछ । फ्रीफायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट रहनेछ । पब्जी र फ्री फायरमा हरेक टोलीमा एकजना ब्याकअपसहित ५ जना खेलाडी रहनेछ भने प्रतियोगितामा जम्मा ४८ टोलीका करिब २८० जना खेलाडीको सहभागिता रहने कार्कीले जानकारी दिए ।

विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार मकवानपुरमा कलेज तहबाट पहिलोपटक पुरस्कार राशिसहितको ई–स्पोट्र्स प्रतियोगिता आयोजना गर्न लागिएको हो । कूल ५० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता नेपालमै कलेजस्तरबाट आयोजना हुने सबैभन्दा ठूलो ई–स्पोट्र्स इभेन्ट भएको दाबी गरिएको छ । ई–स्पोट्र्सप्रति युवापुस्ताको बढ्दो आकर्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

फ्रीफायर खेलमा प्रथम हुने टोलीलाई नगद ११ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५ हजार ५ सय रुपैयाँ र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी र फ्यान फेभरेट टिमलाई २÷२ हजार रुपैयाँ प्रदान गरिनेछ । पब्जी खेलमा प्रथम हुने टोलीले ८ हजार ५ सय रुपैयाँ, दोस्रोले ४ हजार रुपैयाँ, तेस्रोले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार दिइनेछ ।

ई–फुटबल विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ४ हजार, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । टप गोलकर्तालाई १ हजार रुपैयाँको पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल साउन ८ गते हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*