हेटौंडा–७, न्यूरेनीमा नयाँ ‘लजिस्टिक्स सेन्टर’ उद्घाटन
हेटौंडा-लजिस्टिक्स सेवाप्रदायक अग्नि लजिस्टिक्स प्रालिले हेटौंडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरु गरेको छ । बागमती प्रदेशका प्रमुखसचिव भूपाल बरालको प्रमुख आतिथ्यतामा हेटौंडा–७, न्यूरेनीमा आयोजित एक कार्यक्रमबीच सेन्टरको उद्घाटन गरिएको हो । यो अग्नि लजिस्टिक्सको तेस्रो सेन्टर हो । कम्पनीले महिन्द्रा बोलेरो नियो एसयुभी र महिन्द्रा जियो इभी गाडीहरु सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुखअतिथि बरालले निजीक्षेत्र आर्थिक समृद्धिको मुख्य संवाहक भएको बताउँदै सरकारको भूमिका एक नियामक निकायको रुपमारहने स्पष्ट पारे ।
‘निजीक्षेत्रले जोखिम लिएर लगानी गर्छ, रोजगारी सिर्जना गर्छ र अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यसैले सरकारले सहजीकरण र प्रोत्साहनका नीति अवलम्बन गर्नुपर्छ,’ बरालले भने, ‘सरकार नियमनकारी भूमिकामा रहँदै लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहनुपर्छ ।’ बरालले राष्ट्रिय जीडीपीमा औद्योगिक क्षेत्रको योगदान घट्दो क्रममा रहेको उल्लेख गर्दै आन्तरिक राजस्व परिचालन कमजोर भएकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको बताए ।
अग्नि लजिस्टिक्सको हेटौंडासहित काठमाडौं, इटहरी र भैरहवामा गरी देशभर चारवटा सेन्टर रहेका छन् । अत्याधुनिक पूर्वाधारयुक्त हेटौंडा लजिस्टिक्स सेन्टर तथा वेयसहाउस ३३ हजार १ सय ६७ वर्गफिट क्षेत्रफलमा फैलिएको छ । २२ सय घनमिटर भण्डारण क्षमता, एक हजार ५० वटा प्यालेट पोजिसन रहेको छ । यसक्षेत्रको व्यापारिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
अग्नि ग्रुपले आफ्नो सेवालाई विस्तार गर्दै ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य राखेको बताएको छ । अग्नि लजिस्टिक प्रालिका अध्यक्ष क्याविनेट श्रेष्ठले विगत ८ वर्षदेखिको अध्ययनपश्चात् लजिस्टिक्स व्यवसाय सञ्चालनमा ल्याइएको बताए । ‘हामीले लामो समयदेखि बजारको अध्ययन गर्यौं, सम्भावनाहरु खोज्यौं र त्यसैको आधारमा यो व्यवसाय सुरु गरेका हौँ,’ उनले भने । लजिस्टिक्स नेपालको अर्थतन्त्रको लागि मेरुदण्ड हुने उनको दाबी छ ।
‘कुनैपनि देशको आर्थिक विकासको लागि प्रभावकारी लजिस्टिक्स सेवा अपरिहार्य हुन्छ । यसले उत्पादनलाई बजारसम्म पु¥याउन, लागत घटाउन र समग्र प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत गर्छ,’ उनले थपे । नेपालकै केन्द्रभागका रुपमा रहेको औद्योगिक नगरी हेटौंडाका उद्योग व्यवसायलाई लक्षित गरेर लजिस्टिक्स सेन्टर सञ्चालनमा ल्याइएको उनले बताए । ‘हेटौंडा देशकै प्रमुख औद्योगिक क्षेत्र हो र यहाँ धेरै उद्योग सञ्चालनमा छन् । हामीले यहाँका उद्योगलाई गुणस्तरीय र भरपर्दो लजिस्टिक्स सेवा प्रदान गर्ने लक्ष्य राखेका छौँ,’ श्रेष्ठले भने ।
प्रत्येक सेवा प्रणालीलाई डिजिटलीकरण गर्दै व्यावसायिक कार्यहरुलाई अझ प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य रहेको उनले बताए । ‘हामी प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेका छौँ । यसले ग्राहकलाई आफ्नो सामानको ट्रयाकिङ गर्न, लागत व्यवस्थापन गर्न र समग्र दक्षता बढाउन मद्दत गर्नेछ ।’ हेटौंडा लजिस्टिक्स सेन्टरलाई व्यावसायिक ढुवानीका लागि द्रुत, भरपर्दो र सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले विकास गरिएको बताइएको छ । अग्नि लजिस्टिक्स प्रालि सन् २०१८ मा स्थापित अग्नि ग्रुप अन्तर्गतको ‘थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) सेवा प्रदायक हो ।
यसले भण्डारण, ढुवानी, प्याकिङ, लोडिङ, इन्ट्री र डिस्प्याच सेवा सञ्चालन गर्दै आएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का, अग्नि ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्राका नेपाल, भुटान र श्रीलंका क्षेत्रीयप्रबन्धक चेवन कालाकोटेगारा, अग्नि ग्रुपकावरिष्ठ पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।







